काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


महाशाखाको पीडित सहायता ईकाइबाट खटिएको टोलीले नुवाकोटका विमल गुरुङ र मोरङ बेलबारी घर भई गोलढुङ्गा बस्ने आशिष खत्रीलाई पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईका अनुसार, उनीहरुलाई गंगबु बस्ने अशोकमान सिंह कुवरको हराएको बा ९२ प ९१३३ नंम्बरको निलो बुलेट बाइक सहित पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


उक्त मोटरसाइकलको वास्तविक नम्बर प्लेट परिवर्तन गरी बा ९६ प ४५९० नम्बर प्रयोग गरेको अवस्थामा पक्राउ गरिएको एसएसपी भट्टराईले जानकारी दिए । महाशाखाले दुई हप्तामा चोरी भएका १९ वटा मोटरसाइकल र ११ वटा स्कुटर गरि ३० वटा मोटरसाइकल खोजतलास एव बरामद गर्न सफल भएको छ ।

एसएसपी भट्टराईले बरामद मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएका हुन् । कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले सवारी साधनको चोरी नियन्त्रण गर्ने अभियानलाई तीव्रता दिइदै आएको बताए। उनले भने, ‘यसका लागि सादा पोसाकमा समेत विशेष ट्राफिक प्रहरीको टोली परिचालन गरेका छौँ, त्यस टोलीले नियमित रूपमा खबर संकलन गर्ने तथा विशेष अपरेशन मार्फत मोटरसाईकल बरामद गर्ने गर्दछ भने चोरीमा संलग्न मानिसहरुलाई समेत पक्राउ गर्ने गर्दछन् ।’

महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले उपत्यकाको भक्तपुर, काँडाघारी, माछापोखरी, गोकर्णेश्‍वर, टोखा, नयाँबसपार्कका साथै उपत्यकासँग सिमाना जोडिएका बिभिन्न स्थानहरुबाट यी मोटरसाईकलहरु बरामद गरेको एसएसपी भट्टराईले जानकारी दिए ।

चालू आर्थिक वर्षमा मात्रै हराएका ३३१ वटा मोटरसाइकल खोजतलास गरि सवारी धनीलाई जिम्मा लगाउनुको साथै चोरीमा संलग्न ४५ जना व्यक्तिहरूलाई पक्राउ गरी विभिन्न प्रहरी बृत्तहरुमार्फत मुद्दा चलाएको महशाखाले जनाएको छ ।

चोरी भएको थाहा पाउनसाथ नजिकको प्रहरी वा ट्राफिक प्रहरीको हटलाईन १०३ वा अनलाईन सेवा ‘लस्ट भेइकल एप्लिकेसन’मा लगईन गरेर निवेदन दिने व्यवस्था समेत रहेकोले समयमै जानकारी गराउन महाशाखाले अनुरोध गरेको छ ।