काठमाडौँ – सत्ता साझेदारीको कसरतमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले सरकार गठनमा कसलाई सघाउने भन्ने विषय अझै टुङ्गो लगाउन सकेको छैन । वर्तमान परिस्थितिमा सत्ता साझेदारीलगायत विषयमा छलफल गर्न जसपाको पटकपटक पदाधिकारी बैठक बसे पनि कुनै निर्णयमा पुग्न सकेको छैन ।


ADVERTISEMENT


ललितपुरको बालकुमारीस्थित पार्टी मुख्यालयमा आज भएको पदाधिकारी बैठक निष्कर्षहीन भएको छ । आजैका लागि बोलाइएको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक पनि स्थगन भएको छ । समितिको बैठकको तयारीस्वरुप बिहान भएको पदाधिकारी बैठकले आवश्यक तयारी नपुगेको जनाउँदै बैठक स्थगन गरेको थियो । मध्याह्नका लागि तय गरिएको समितिको बैठक अनिश्चितकालका लागि स्थगन भएको जसपाका नेता केशव झाले जानकारी दिए । बैठक बस्नुअघि पदाधिकारीबीच छलफल भए पनि थप तयारी गर्नुपर्ने देखिएको जनाइएको छ ।


ADVERTISEMENT

# # #


यसअघि यही चैत २ गते भएको जसपाका शीर्षनेताको बैठक पनि निष्कर्षहीन भएको थियो । चैत ३ गतेको पदाधिकारी बैठकसमेत स्थगन गरिएको थियो । अघिल्ला सबै बैठकमा सत्ता साझेदारीलगायत विषयमा पार्टीले स्पष्ट धारणा बनाउनेबारे छलफल भए पनि निष्कर्षमा पुगिनसकेको जसपाले जनाएको छ ।

सत्ता साझेदारीका लागि निरन्तर परामर्शमा रहेको जसपाले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)सँग चरणबद्ध छलफल गरेको थियो । जसपाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग पनि परामर्श गरेको थियो । पार्टीले बन्दी रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधनलगायत माग राख्दै आएको छ । जसपामा ३४ सांसद रहेकामा दुई सदस्य निलम्बित छन् ।