सुवास खतिवडा, एड्भेन्चरर


ADVERTISEMENT


लामो समयदेखि फरक किसिमको साहसिक खेल एवं क्रियाकलापहरूमा संलग्न हुनुहुन्छ । यस क्षेत्रलाई नै तपाईँले आफ्नो कर्मक्षेत्र बनाउनुभएको छ । यसको शुरुवात कसरी भयो ?


ADVERTISEMENT

# # #


म पहिलेदेखि नै एडभन्चर्समा चासो राख्थेँ । घुमफिरमा रुचि थियो । देशमै सम्भावना छन्, स्वदेशलाई नै प्राथमिकतामा राखेर हिँड्नुपर्छ भन्ने धारणा थियो । कलेज पढ्दादेखि नै जीवनमा केही गर्नुपर्छ जसले एउटा स्मृति छाडेर जाओस् भन्ने थियो । त्यसकारण सम्झनलायक काम केही गर्नुपर्छ भनेर कलेज पढ्दादेखि नै त्यस्ता क्रियाकलापमा हामी संलग्न हुन्थ्यौँ । साहसिक क्षेत्र त्यसमा पनि जोखिमपूर्ण खेल क्षेत्र प्याराग्लाइडिङ, स्वीङ, स्कि, बन्जी, स्काई ड्राइभिङ, स्कुभा ड्राइभिङ लगायतको क्षेत्रतर्फ म लागेको धेरै भएको छैन, ४ वर्ष जति भयो । यसको सुरुवात कसरी भयो भने यसको रमाइलो घटना छ । पहिले मलाई एकदमै डर लाग्थ्यो । बच्चामा म पिङ खेल्दा पनि डराउँथेँ, मुटु सिरिङ्ग हुन्थ्यो । २०१७ मा दुबईमा हामीले ‘फरारी वर्ल्ड’ गर्‍यौँ । ‘फरारी वर्ल्ड’मा विश्वको सबैभन्दा तीव्र रोडमा यात्रा गरेको रोलर कोस्टर
खेल खेल्यौँ  । उक्त खेलमा २४० किलोमिटर प्रतिघण्टाको रफ्तार २ मिनेटमा पार गर्नुपर्थ्यो । त्यो समयमा मलाई २ मिनेटसम्म मुटुको ट्र्याल दिएको जस्तो लाग्यो । मलाई ठूलो युद्ध जितेर आए जस्तो लाग्यो, सोचेँ म गर्न सक्छु । मनोवैज्ञानिक रुपमा यो चीजलाई जित्न सक्छु भनेर मनोबल बढाएर अघि बढ्यो भने जित्न सकिन्छ भन्ने आँट आयो । त्यही दिन ३६० डिग्रीको फ्लाइ एक्सेस थियो, त्यो पनि गर्‍यौँ । अब म जे पनि गर्न सक्छु भन्ने अनुभूति भयो ।

नेपालमा एडभन्चर्स स्पोर्ट खासै थिएन पहिले । बन्जी र स्वीङ थियो भोटेकोशीमा, अन्त खासै थिएन । पछि पोखरामा जीपलाइन र टावर बन्जी बन्यो । यहाँ फर्किसकेपछि नेपालमै आन्तरिक ठाउँम घुम्नुपर्छ सोचेँ । बाहिर त केही छैन नेपालमा सबथोक छ हामीले प्रचार गर्न नसकेको मात्र हो । त्यति धेरै सम्भावना छ नेपालमा । नेपालमा साहसिक खेलकुदको क्षेत्रमा विस्तारै नयाँ नयाँ खेल आउन थाल्यो । विश्वकै दोस्रो ठूलो बन्जी र विश्वकै उच्च स्वीङ्ग बन्यो । यो सँगैँ म नेपाल फर्किएपछि साहसिक खेलमा रुचि राख्न थालेँ ।

नेपाल आइसकेपछि कुन-कुन साहसिक खेल गर्नुभयो ?

म विज्ञानको हिसाब गरेर मात्र खेल खेल्छु । म गर्न सक्छु भनेर पहिले आफूलाई तयार गर्छु । केही मान्छेहरुमा उचाईको डर हुन्छ । पुलमा मजाले हिँड्न सक्नुपर्ने हो नि तर हामी कतिपय तल हेरेपछि डराउँछौँ । यसमा जोखिम त केही छैन तर त्यो उचाईका कारण हामीलाई डर लाग्छ । यो मनोवैज्ञानिक कारण हो । यसलाई हटाउने हो भने सकिन्छ जस्तो मलाई लाग्छ । साहसिक खेलहरुमा प्याराग्लाइडिङ, स्वीङ, जीपलाइन गरेँ । विश्वकै दोस्रो अग्लो बन्जी गरेँ । अन्य स्लाइडहरु पनि गरेँ । ट्रेकिङ एण्ड ट्राभलमा रुचि राख्ने कारणले घुम्न थालेँ, मलाई यहाँ भएका जति साहसिक खेल गरेको छु जस्तो लाग्छ । अब स्क्राइभ ड्राइभिङ गर्न बाँकी छ । नेपालमा पनि छ सम्भव छ । तर प्रचार भइसकेको छैन । लागत धेरै लाग्छ । लागत धेरै नहुँदो हो र सहज तथा सुलभ हुँदो हो त नेपालमा पनि यसको सम्भावना छ भन्ने मलाई लाग्छ । कोभिड लगायतका कारणले मैले स्काइ ड्राइभिङको योजना बनाए पनि गर्न बाँकी रहेको छ । यात्रा चाहिँ एभरेष्ट बेस क्याम्पदेखि रारासम्म गरेको छु । रारा र एभरेष्ट बेस क्याम्पको यात्रा १५ दिनको अन्तरमा गरेको थिएँ । मुस्ताङसम्मको माथिल्लो भागसम्मै पुगेको छु । तर अझैँ थुप्रै ठाउँहरू घुम्न बाँकी छ । खप्तड, से फोक्सुन्डो, तिलिचो लगायत धेरै ठाउँ घुम्न बाँकी छ । घुम्ने सोच बनाएर हिँड्ने हो भने नेपाल नै सिँगो विश्व हो जस्तो मलाई लाग्छ । त्यति धेरै ठाउँ छन् नेपालमा ।

DCIM100GOPROG0044982.JPG

अब आगामी दिनमा के गर्ने सोचमा हुनुहुन्छ ?

र्‍याफ्टिङ गरेँ । अब क्लासिफाइड र्‍यापिड र्याप्टिङ गर्ने सोच बनाएको छु । कायाकिङका लागि ट्रेनिङ चाहिन्छ, यसको पनि सोच बनाएको छु हेरौँ । अलि अग्लो राम्रो झरना भेटेपछि क्यानविङ गर्ने योजना बनाएको छु । अनि विशेषतः स्काई ड्राइभिङ हो अबको आगामी योजना । साहसिक खेलको सबैभन्दा शीर्ष खेल नै स्काई ड्राइभिङ हो जस्तो लाग्छ मलाई । अर्को स्कुभा ड्राइभिङ मेरो सोख हो । यसमा अक्सिजन लगाइएको हुन्छ तर यसमा समुद्रको गहिराईमा जानुपर्ने हुन्छ ।

आकाशबाट तल झर्ने र समुद्रमुनि जाने सोख बनाउनु भएको छ । यो कहाँ छ ?

स्काई ड्राइभिङ नेपालमा सम्भव भएसम्म म नेपालमै गर्छुँ । तर अहिले सञ्चालनमा छैन, सञ्चालनमा नभएका कारणले गर्दा मलाई दुबई जानुपर्ने हुन्छ । १३ हजार माथिबाट हाम फाल्ने सोच बनाएको छु यसमा । स्कुभा ड्राइभिङका लागि भने समुद्र भएको जुनसुकै देश जाँदा पनि हुन्छ । सायद म यसका लागि थाइल्याण्ड जान्छु होला ।

यस किसिमका साहसिक खेलका फाइदाहरू के के हुन् ?

सबैभन्दा मुख्य त आफ्नो आत्मविश्वासको विकास हो । यसले डरलाई जित्ने र आत्मविश्वास बढाउने हो ।

प्रायः व्यक्तिहरुसँग एक किसिमको तालिका हुन्छ । यसैमा व्यस्त हुन्छन् । यसबाट बाहिर कसरी आउने ?

तालिकाबाट बाहिर निस्किनै पर्छ । शरीर र मस्तिष्कलाई ठीक राख्नका लागि पनि तालिकाबाट बाहिर आउनुपर्छ । ठीक छ म पनि व्यस्त हो । तर कामै मात्र जिन्दगी होइन । समय निकाल्ने हो । हामी यहाँ काम गर्न मात्र होइन, जिउन पनि आएको हो । बिदाको दिनमा वा बिदा लिएर पनि यस्ता क्रियाकलापका लागि समय निकाल्ने हो । बिदाको सुविधा कम्पनीले दिएको हुन्छ, त्यसलाई लिनुपर्यो । आफ्ना लागि जिन्दगी जिउन बिदा लिन सक्नुपर्यो । फुर्सद नै पाउँदिन बिदा लिन पाउँदिन भने त्यो मेरो समस्या हो, कम्पनीको होइन। म कति ठाउँमा बिदा लिएरै जान्छु । इच्छाशक्ति हुने हो भने कार्यतालिका भन्दा बाहिर आउन सकिन्छ, समय त मिलाउने कुरा हो ।

नेपाल घुम्नका लागि विश्व बराबर छ भन्नुभयो । नेपालीहरु आफ्नै ठाउँसम्म नघुमेका हुन् त ?

बिलकुल । हामीहरुलाई आफ्नो ठाउँको बारेमा थाहै छैन । अहिले आएर मान्छेहरु अलिअलि घुमेको देखिन्छ । सामाजिक सञ्जालका धेरै बेफाइदाहरु छन् भने यसका केही फाइदाहरु पनि छन् । सामाजिक सञ्जाल आएपछि स्थानीय ठाउँहरुको प्रचार भएको छ । विदेशमा गएर कसैले समुद्र किनारमा फोटो हाल्छ भने हामीलाई रमाइलो लाग्छ । तर समुद्र के हो र? हाम्रोमा जस्तो डाँडा पाखाहरु छन् विदेशमा त समुद्र त्यस्तै हो नि । त्यहाँ त जहाँ पनि समुद्र छ नि । त्यसमा के रमाइलो भयो र ? खासमा केही पनि होइन, त्यो त एउटा सानो अंश मात्र हो । तर नेपालमा प्रशस्त सुन्दर ठाउँहरू छन् । उदाहरणका लागि ३ वर्ष अघितिर डुम्रे भन्ने ठाउँबाट म आइरहेको थिएँ । त्यहाँ सिद्ध गुफा भन्ने रहेछ, मलाई थाहा थिएन । डुम्रेबाट आधा घण्टा जति उकालो चढेर जाँदा सिद्ध गुफा आउँछ, त्यहाँ ४५३ मिटर जति भित्र जानुपर्छ । त्यो आफैमा रमणीय ठाउँ छ ।

सानो साहसिक यात्राका लागि उत्तम ठाउँ हो त्यो तर मान्छेलाई थाहै छैन । त्यो बाटो दिनमा हजारौँले यात्रा गरिरहेका हुन्छन् तर जानकारी नै छैन । यदि त्यो ठाउँ विदेशको कुनै ठाउँमा हुन्थ्यो भने त्यसको यति धेरै प्रचार हुन्थ्यो कि त्यो सानो ठाउँमा पनि मान्छेहरु टिकट काटेर त्यसैका लागि मात्र भनेर जान्थे । तर नेपालमा प्रचार छैन । नेपालमा यति धेरै कुरा छ कि हामीले हामीलाई नै बताउन सकेका छैनौँ । यसको अर्को कारण सडक पूर्वाधार नहुनु पनि हो । यसकारण पनि नेपाल घुम्न धेरै खर्च लाग्छ । विदेश घुम्न जति खर्च लाग्छ नेपाल घुम्न पनि सडक पूर्वाधारका कारण त्यति नै जति खर्च लाग्छ । पैसा त्यति नै खर्च हुन्छ । त्यसकारण यति पैसा खर्च गरेर म विदेश नै घुम्छु नि भन्ने सोच राख्ने गरेको पनि पाइन्छ । त्यो आफ्नो सोच हो । तर विकल्प नभएको भने होइन । नेपालमै घुम्न प्रशस्त क्षेत्र छन् । केही अभाव भएका विषयबारे विदेश जानै पर्ने हुन्छ । जस्तो नेपालमा स्कुभा ड्राइभिङ सम्भव छैन, यसका लागि विदेश नै जानुपर्ने हुन्छ । तर, कतिपय यस्ता प्रशस्त सम्भावना छन् जसका लागि विदेश जानै पर्छ भन्ने चाहिँ म देख्दिनँ ।

नेपालमा रहेका त्यस्ता ठाउँहरुको र आन्तरिक पर्यटन प्रवर्द्धनका लागि राज्यले के गर्नुपर्छ

सबैभन्दा मुख्य कुरा त पूर्वाधार निर्माण गर्नुपर्छ । पूर्वाधारको विकास भयो भने हामी जान्छौँ । हामी गएपछि प्रचार हुन्छ । पूर्वाधार भएपछि मान्छेहरु जान्छन् । म रारा पुगेको थिएँ । रारा एकदमै राम्रो ठाउँ छ । प्लेनमा जाने विकल्प थियो तर म बाटोबाटै अफरोड यात्रा गर्दै जान्छु भनेर म त्यहाँ गएँ । रारा स्वर्ग जस्तो राम्रो छ । ठाउँ त्यति राम्रो छ समस्या के भने पूर्वाधार छैन । होटल छैन, सेवा छैन । बाटो ध्वस्त छ । त्यहाँ राम्रो होटलको निर्माण हुन सकेको देखिन्न । यसले के हुन्छ भने एकपटक गइसकेपछि व्यक्ति त्यहाँ फेरि जान मन गर्दैन । कसरी जाने, कहाँ बस्ने लगायतका कारणले धेरै प्रभाव पारेको छ । त्यसकारण पर्यटकीय क्षेत्रसम्म पुग्नका लागि राम्रो पूर्वाधार र पर्यटकीय क्षेत्रमा बस्नका लागि राम्रो सेवाका लागि पहल गर्न जरुरी छ ।

तपाईँले हालसम्म गरेका साहसिक खेलमध्ये बिर्सिन नसकिने त्यस्तो सम्झना ?

त्यस्तो धेरै छ । हामी भोटेकोशीमा र्याफ्टिङ गर्दै थियौँ । डराउने मान्छे कोही थिएन । डराउने मान्छेले अरुको पनि आत्मविश्वास कम गर्छ भनेर सकेसम्म हामी त्यस्तो साथीलाई यात्रामा सँगै लादैनौँ । डराउने कोही नभएपनि र्यापिडमा थियौँ, बोट पल्टिएको होइन तर एकजना साथी खस्यो । र्यापिडमा खसेपछि हामीले समात्यौँ र ऊ माथि चढ्दा ऊ हाँसिरहेको थियो । ऊ म खसे क्या रमाइलो भयो भनेर खुसी थियो । र्यापिडमा त्यस्तै ढुङ्गा लाग्यो भने ठूलो चोट लाग्न सक्छ, मृत्युसम्म हुनसक्छ त्यति खतरनाक हुन्छ । तर साथी खुसी थियो । त्यो घटना एकदमै सम्झनलायक छ । अनि अर्को हामी रारा जाँदा बाटोमा गाडी बिग्रियो । त्यसपछि हामी ५ मिनेट चलाउँदै रोक्दै फेरि चलाउँदै रोक्दै गरेर हामी रारा पुथ्यौँ । त्यो पनि रमाइलो घटना थियो । समस्या के भन्दा रारा जाँदा बाटोमा सानो १२-१३ सयको पार्टस् भेटिएन । एकदिन थप बसेर पार्टस् फ्लाइटमा नेपालगञ्जबाट मगाउनुपर्यो । पर्यटकीय क्षेत्रमा पूर्वाधारको यतिसम्म समस्या छ । यस्तोमा अब दोस्रोपटक गाडी लिएर त्यहाँ जान आँट्न सकिने अवस्था रहेन । यस्ता कारणले पनि मान्छेहरु जोखिम लिन चाहदैनन् । यी विषयमा राज्यले सोच्नुपर्छ ।

नयाँ नयाँ यात्रा गरिराख्नुभएको छ । नेपालमा संसारकै अग्लो हिमाल सगरमाथा छ । चढ्ने योजना छैन ?

सगरमाथाको फेँदीसम्म पुगियो । तर, अब सगरमाथा चढ्छु भन्ने नै सोच छैन । म फेँदीसम्म पुगेँ, सगरमाथा चढ्नेप्रतिको सम्मान एकदमै उच्च छ, म उहाँहरुलाई हृदयदेखि सम्मान गर्छुँ । त्यो आँट मसँग छैन। नजिकका अरु कुनै हिमाल भने चढ्न सकिएला ।

अन्तिममा के भन्नुहुन्छ ?

अन्तिममा नेपालमा प्रशस्त सम्भावना छ । पर्यटन क्षेत्रले अर्थतन्त्रलाई बलियो पार्न सक्छ । कम्तीमा स्थानीय अर्थतन्त्र त पर्यटनले धान्छ । यसका लागि पूर्वाधार निर्माण गरी पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न जरुरी छ । साहसिक खेलले आत्मविश्वास बढाउँछ । मुटु जाँच गर्न सकिन्छ । जस्तोसुकै अवस्थामा शान्त बन्न सक्ने साहस दिन्छ, डरबाट मुक्त गराउँछ । त्यसैले राज्यले यस क्षेत्रको प्रवद्र्धनका लागि आवश्यक पहल गर्न जरुरी देखिन्छ ।