काठमाडौँ – मालपोत कार्यालय, सिमरा बाराका कार्यालय प्रमुख नायब सुब्बा मनोज कुमार खनाल र लेखापढी व्यवसायी बद्री प्रसाद बडाल ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।


ADVERTISEMENT


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई सेवाग्राहीसँग ६ लाख घुस लिइसकेको अवस्थामा घुससहित पक्राउ गरेको हो । उनीहरुले ‘सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का रहेको र सर्जमिन मुचुल्का गरी सिफारिस पठाई फुकुवा गर्ने प्रक्रिया मिलाई फास्ट ट्रयाकबाट पास गराईदिने भन्दै उक्त रकम घुल लिएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


उनका अनुसार नायब सुब्बा खनाल र लेवाढी व्यवसायी बडाललाई पक्राउ गरी उनीहरुलाई विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ । नायब सुब्बा खनालले सेवाग्राहीसँग ६ लाख घुसको मोलमोलाई गरी लेखापढी व्यवसायी बडाललाई लिन लगाएका थिए । नायब सुब्बा खनालले भनेअनुसार लेखापढी व्यवसायी बडालले सेवाग्राहीसँग घुस लिएर खनाललाई बुझाइसकेको खुलेको अख्तियारले जनाएको छ ।

सो अनुसार अख्तियारले नायब सुब्बा खनाललाई ६ लाख बिगो दाबीसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम जरिवाना र कैद सजाय माग गरेको छ ।

यस्तै लेखापढी व्यवसायी बडाललाई ६ लाख बिगो दाबीसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम जरिवाना र कैद सजाय गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता रिसालले जनाएका छन् ।