रसुवा– अत्यधिक चिसोपन क्रमिक रूपमा घट्न थालेपछि जिल्लामा घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि भएको छ ।


ADVERTISEMENT


कोभिड–१९ को सङ्क्रमणपछि अधिकांश समय सुनसान रहँदै आएको पर्यटकीय क्षेत्रमा तातोपन बढेसँगै गोसाइँकुण्डका धार्मिक यात्रु एवम् प्राकृतिक छटाको अवलोकन गर्नेको सङ्ख्या बढ्न थालेको हो । लाङ्टाङ तथा तामाङ सम्पदा मार्गमा आउने पर्यटक बढी देखिएका छन् ।


ADVERTISEMENT

# # #


हिमाली भेगको हिमपात क्रमशः पग्लिन थालेको र तातोपना बढ्दै गएकाले आन्तरिक पर्यटकको आगमन क्रमशः बढ्न थालेको व्यवसायीले बताएका छन् । रसुवा घुम्ने पर्यटकको सङ्ख्या हिजोआज दैनिक २०/२५ जनाले बढिरहेको छ । उनीहरू गोसाइँकुण्डतर्फ धार्मिक यात्रामा केन्द्रित हुने गरेका छन् । हिमाली प्रकृतिको अवलोकन गर्ने उपयुक्त समय भएको र कोभिड–१९ को सङ्क्रमण शून्यमा झरिसकेकाले यही चैत १५ गतेदेखि दैनिक २०० भन्दा बढीको आगमन हुने अनुमान गरिएको छ ।

पर्यटक बढेसँगै भोजन तथा बासको उचित प्रबन्ध मिलाउन आवश्यक पर्ने खाद्यान्न भण्डार र सुत्नका लागि लजको सुदृृढीकरण भइसकेको चन्दनबारीका होटल व्यवसायी पासाङघ्युर्मी तामाङले जानकारी दिए । विदेशी पर्यटकका भरमा आत्मनिर्भर बनेको लाङ्टाङ पर्यटकीय पदमार्गमा पनि फाट्टफुट्ट रूपमा आन्तरिक पर्यटक आउन थालेका कारण केही राहत मिलेको लाङ्टाङ क्षेत्रका व्यवसायी ढिण्डुप तामाङले बताए ।

उता तामाङ सम्पदा मार्गअन्तर्गत गतलाङको पार्वतीकुण्ड, बाक्लो मानवबस्ती, स्थानीय परिकार, परम्परागत वेशभूषा, जङ्गलमा चर्ने हिमाली चौँरीगाईका बथानको अवलोकनजस्ता आकर्षणले पर्यटक रमाउने गरेको पर्यटन व्यवसायका अगुवा फुर्पु दोर्जे तामाङको भनाई छ ।

रसुवा क्षेत्रमा विसं २०५७/५८ मा स्थापना गरिएको बृद्धिम घरबास पाहुनाका लागि आकर्षण बन्दै गएको छ । पर्यटन प्रवद्र्धनका माध्यमबाट ग्रामीण गरीबी न्यून हुने विश्वासका साथ तत्कालीन घरबास सञ्चालनमा ल्याइएको हो । हाल यहाँ २७ घरले अतिथिलाई सेवा दिइरहेका छन् । घरबासमा आउने पाहुनालाई बृद्धिम पुग्नासाथ पहिलोे स्वागत गरी बासस्थानको घर तोक्ने र स्थानीय खाना खुवाउने व्यवस्थापन गरिएको बृद्धिम घरबास सञ्चालन समितिका अध्यक्ष नुर्पु तामाङले जानकारी दिए ।

खानपिन र बसोबासमा कुनै समस्या नपर्ने र हिमाली प्रकृतिको छटा सुन्दर देखिन थालेका कारण रसुवा घुम्नका लागि यहाँका व्यवसायीले पाहुनामाझ आग्रह गरेका छन् । रासस