काठमाडौँ – सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष तथा प्रधनमन्त्री केपी शर्माओली र माधवकुमार नेपाल पक्षबीचको छलफल सकिएको छ । छलफलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्माओली र बैठकमा समहभागी स्थायी समितिका सदस्यहरुले आफ्ना धारणाहरु राखेको नेता भीम रावलले जानकारी दिए ।


ADVERTISEMENT


पार्टी कार्यालय धुम्बाराहीमा सोमबार भएको छलफल पछि बोल्दै नेता माधव नेपाल समूहका नेता रावलले आफूहरुले पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्ने बताएको उल्लेख गरे । आफूहरु जहिले पनि वामपन्थी एकताको पक्षमा रहेको बताउँदै उनले भने, ‘नेकपा एमाललाई एकतावद्ध बनाउनुपर्छ भन्ने हाम्रो धारणा रहेको छ भन्ने कुरालाई हामीले स्पष्ट गर्‍यौँ ।’ एकता जोगाउनका लागि सबैले सर्वोच्चको फैसला अनुसार काम गर्नुपर्ने उनले बताए । छलफलमा ओली पक्षले पनि पार्टी एकतालाई कसरी जोगाउने भन्नेबारेमा धारणा राखेको नेता रावलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


सर्वोच्च अदालतले नेकपा एमालेलाई तीन वर्ष अघि फर्काइदिएकाले पार्टीका सम्पूर्ण कार्यहरु तीन वर्ष अघिको त्यही बिन्दुबाट अघि बढ्नुपर्ने धारणा आफूहरुले राखेको नेता रावलले जानकारी दिए । उनका अनसार सर्वोच्चको फैसलापछि ओली पक्षले एकपक्षीय रुपमा गरेका निर्णयहरुप्रति माधव नेपाल पक्षले आफ्नो असहमति रहेको कुरा पनि राखेको छ ।

ओली समूहले गत फागुन २८ गते अध्यक्ष र महासचिव बाहेकका सबै पद खारेज गर्दै महाधिवेशन आगामी मंसिरमा गर्ने निर्णय गरेको थियो । पार्टीले कुनै निर्णय गर्नुपर्दा केन्द्रीय कमिटीका सदस्यहरु बसेर औपचारिक निर्णयबाट स्थापित कुरा मात्रै स्वीकार्य हुने नेपाल पक्षको धारणा रहको छ । तर, यसमा ओली पक्षले स्वीकार भने गरेको छैन । छलफलमा उक्त विषयमा कुरा नमिलेको नेता रावलले जनाएका छन् ।

उनले भने, ‘यो विषयमा कुरा मिलेन । कुरा नमिले पनि फेरि छलफल गर्ने कुरा भएको छ ।’ तर, त्यो छलफल कहिले र कसरी गर्ने भन्ने कुरा नभएको उनले बताए ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्ने असफल निर्णय गरेपछि एकअर्काविरुद्ध गतिविधि, अभिव्यक्ति र निर्णय गर्दै आएका यी दुई समूह चार महिनापछि छलफलका लागि एकै मन्चमा उपस्थित भएका थिए । प्रधानमन्त्री ओलीले नेपाल समूहलाई छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार बोलाएका थिए । तर, नेपालले बालुवाटार जान अस्वीकार गर्दै पार्टी कार्यालय धुम्बाराहीमा बस्नु पर्ने अडान राखेपछि प्रधानमन्त्री ओली आफ्नो समूहसहित त्यहाँ पुगेका थिए ।

छलफलमा ओलीसहित उनका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ रहेका थिए भने । अर्का तर्फ नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, गोकर्ण बिष्ट र रघुजी पन्त सहभागी भएका थिए ।