कञ्चनपुर – कञ्चनपुरमा पछिल्लो केही समययता वन अतिक्रमण बढ्दै गएपछि सरोकारवाला निकाय वन क्षेत्र खाली गराउन अग्रसर भएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरले मातहतका छ वटा सवडिभिजन वन कार्यालयलाई परिपत्र गरी पछिल्लो समय वन अतिक्रमण बढ्दै गएकोप्रति चासो राख्दै वन क्षेत्रमा बनेका नयाँ र पुराना घर/टहरा हटाउने क्रम शुरु गरेको छ । डिभिजन वन कार्यालयका प्रमुख अजयविक्रम मानन्धरले भूमिसम्बन्धी समस्या समाधानका लागि आयोग गठन भएपछि जग्गा पाउने आशमा अतिक्रमण बढेको बताए ।


ADVERTISEMENT


‘वन मासेर व्यक्तिलाई वितरण गर्ने कुरै आउँदैन,’ वन अधिकृत मानन्धरले भने, ‘स्थानीय प्रशासनको सहयोगमा अतिक्रमण खाली गराउने क्रम शुरु भइसकेको छ ।’ उनले अटेर गरेर वन खाली नगर्ने जो कोही भए पनि बल प्रयोग गरेर भए पनि खाली गराउन लागेको जानकारी दिए । तीन दिनअघि कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित भेटघाट शिविरबाट नयाँ बनेका २० वटा घरधुरी खाली गरिएको जानकारी उनले दिए ।


ADVERTISEMENT

# # #


‘बेलकुण्डी क्षेत्रमा बाढीपीडितका नाममा अतिक्रमण गरी बसेकालाई पनि हटाउने अन्तिम तयारी छ,’ उनले भने, ‘अब जिल्लाका सबै क्षेत्रमा अतिक्रमण हटाउने गृहकार्य भइसकेको छ ।’