काठमाडौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आइतबारका लागि सकिएको छ । आजको बैठकले केन्द्रीय कमिटीको बैठकका एजेन्डा पारित गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।


ADVERTISEMENT


जस अनुसार केन्द्रीय समितिको एजेन्डामा वर्तमान राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्टिङ, रिपोर्टमाथि छलफल र सुझाव लिने, सबै केन्द्रीय सदस्यको धारणा सुन्ने र अन्य रहेका छन्।


ADVERTISEMENT

# # #


नेता श्रेष्ठका अनुसार केन्द्रीय कमिटिले माओवादी केन्द्रको प्रतिनिधित्व गर्दै सरकारमा गएका गृहमन्त्री रामबहादुर थापा लगायतका मन्त्रीहरुलाई फिर्ता हुन दिइएको निर्देशनलाई अनुमोदन गरेको छ ।

पार्टीले शनिबार गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणिचन्द्र थापा, सिंचाइ मन्त्री प्रभु साह, श्रम मन्त्री गौरीशंकर चौधरी र खेलकुद मन्त्री दावा लामालाई २४ घण्टे लिखित स्पष्टिकरण साध्दै सरकारबाट फिर्ता हुन निर्देशन दिएको थियो । यद्दपी माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्नेबारे निर्णय नभएको उनले बताए ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको अवस्था, आगामी रणनीति लगायतका बारेमा रिर्पोटिङ गरेका थिए । यस्तै नेता श्रेष्ठले नेकपा एमालेसँगको पार्टी एकताको मर्म र औचित्य, पार्टीको एकताको उद्देश्य र मर्ममाथि कसरी प्रहार भयो भन्ने बारेमा बोलेका थिए ।

सोमबार ११ बजे पुनः केन्द्रीय कमिटीको बैठक बस्ने नेता श्रेष्ठले जानकारी दिएका छन् । माओवादी केन्द्रले आफ्नो पार्टीको नाम फेर्ने विषयमा छलफल गर्ने भएको छ ।

मंगलबार र बुधबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा नाम परिवर्तनको विषयमा अनौपचारिक छलफलसमेत भएको थियो । त्यसबारे भोलि बस्ने बैठकले निर्णय गर्ने भएको छ ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि माओवादी केन्द्रको नाम फर्ने विषयले पार्टीमा चर्चा पाएको छ ।