फुङलिङ– मेरिङ्देन गाउँपालिकाले मेरिङ्देन ३ दोभान बजारका आगलागी विस्थापितलाई पुनः स्थापित गर्न नयाँ मापदण्ड तयार गरेको छ ।


ADVERTISEMENT


घर निर्माणमा इँटा तथा ढुङ्गा प्रयोग गरी पिलर बनाउनुपर्ने र प्राविधिकका ढाँचा अनुसार घर बनाउनुपर्ने लगायतका मापदण्डमा छन् । घरको नक्सा पास शुल्क भने गाउँपालिकाले मिनाहा गरिदिएको छ । पेट्रोलियम पदार्थको बिक्री वितरण आयल निगमले तोकेको मापदण्ड अनुसार मात्र गराइने जनाइएको छ ।


ADVERTISEMENT

# # #


बजारभित्रको सडकको क्षेत्राधिकार न्यूनतम ६ मिटर तोकिने भएको छ भने सडक र मुख्य सडक जोड्ने नयाँ दुईवटा सडकको क्षेत्राधिकार कम्तीमा ३।५ मिटर मापदण्डमा तोकिएको छ । मुख्य सडकको क्षेत्राधिकार तमोर करिडोर आयोजना तथा सडक डिभिजनसँग समन्वय गरी कार्यान्वयन गर्ने निर्णय भएको मेरिङ्देनका प्रमुख प्रशासकीय अधिकृत आङ्देम्बेले जानकारी दिए ।

नेपाल टेलिकमको टावर तथा क्षतिग्रस्त झोलुङ्गे पुल पुनःनिर्माणका लागि सम्बन्धित निकायमा गाउँपालिकाले अनुरोध गरेको छ । गाउँपालिकाले व्यवसायीको मौज्दात मिलान, कर दाखिला र कर समायोजनका लागि सम्बन्धित कर कार्यालयमा अनुरोध गर्ने निर्णयसमेत लिएको उनले बताए ।

मेरिङ्देन ३ स्थित खाम्लुङको दोभान बजारमा यही १८ गते भएको आगलागीमा परी ५० घर नष्ट र ६३ परिवार विस्थापित भएका थिए । आगलागीबाट करीब रु ४० करोड बराबरको क्षति भएको जनाइएको छ । रासस