कञ्चनपुर– चितुवाले दैनिक घरपालुवा जनावर गोठबाटै लगेर खान थालेपछि शुक्लाफाँटा नगरपालिका २ लक्ष्मीपुरका बासिन्दा निकै चिन्तित भएका छन् । गाउँजजिकैको लक्ष्मी मध्यवर्ती सामुदायिक वनबाट राति आउने चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका जनावर खान थालेकाले उनीहरु चिन्तित बनेका हुन् ।


ADVERTISEMENT


बाख्रा, बङ्गुर र गाईलगायतका जनावर चितुवाले खान थालेको परदेशी चौधरीले बताए । उनका अनुसार, दुई साताको अवधिमै चितुवाले स्थानीयवासीको गोठमा बाँधेका एक दर्जनभन्दा बढी बङ्गुर र बाख्रा खाएको छ ।


ADVERTISEMENT

# # #


‘गाउँका बासिन्दाले पालेका कुकुरसमेत बाँकी राखेको छैन; दिक्क मान्दै उनले भने; ‘राति कुन बेला आउँछ, पत्तो लाग्दैन । सामुदायिक वन छेउमा खाएको अवशेष मात्रै फेला पार्छौँ ।’ गए राति मात्रै रु. ३५ हजार हालेर खरिद गरेको जर्सीगाई चितुवाले गोठमै छिरेर मारेको अवस्थामा फेला परेको स्थानीयवासी धनबहादुर चौधरीले जानकारी दिए । ‘चितुवाका कारण निकै नोक्सानी व्यहोर्नुपरेको छ, यसलाई नियन्त्रण नगरे मानवीय क्षतिसमेत निम्त्याउन सक्छ; उनले भने ।

चितुवाको डरका कारण रातिको समय गाउँका बासिन्दाले हिँडडुलसमेत बन्द गरेका छन् । ‘दैनिक गाउँमै छिरेर घरपालुवा जनावर मारेर खान थालेको छ; स्थानिय अशोक चौधरीले भन्छन्; ‘स–साना बालबालिकालाई समेत आक्रमण गर्ने सम्भावना भएकाले निकै त्रसित भएका छौँ । गाउँमा चितुवाको त्रासले बस्न नसकिने अवस्था आउन थालेको छ ।

सामुदायिक वन संरक्षण गरी उपभोक्ताले हराभरा बनाएपछि चितुवालगायतका जनावर आउन थालेका हुन् । सम्बन्धित निकायसँग यस क्षेत्रका बासिन्दाले चितुवा नियन्त्रण गरी मानवीय क्षति हुनबाट जोगाउनका लागि माग गरेका छन् । रासस