दमौली– तनहुँको म्याग्दे गाउँपालिका ३ साउनेपानी निवासी पदममाया थापाले २३ वर्षअघि श्रीमान् गुमाइन् । श्रीमान् बित्दा उनको काखमा पाँच वर्षकी छोरी थिइन् भने कोखमा पाँच महिने छोरा । उनलाई सहारा दिने आफन्त कोही थिएनन् । पति गुमाउनुको पीडा एकातिर थियो नै, समाजको हेपाइ पनि उत्तिकै । सङ्घर्षले छोरा छोरी हुर्काइन्, बढाइन् र पढाईन् पनि । अहिले तिनै छोराछोरी पदममायाको सहारा बनेका छन् ।


ADVERTISEMENT


श्रीमानको मृत्युपश्चात्, कहिल्यै पनि रातो टीका नलगाएकी उनले २३ वर्षपछि निधारमा रातो टीका लगाएकी छिन् । साथै रातो पछ्यौरा पनि पहिेकी छिन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा म्याग्दे गाउँपालिकाले आयोजना गरेको एकल महिलालाई रातो टीका, रातो पछ्यौरा सम्मानमा सहभागी भएर उनले टीका र पछ्यौरी पहिरिएकी हुन्।


ADVERTISEMENT

# # #


गाउँपालिका अध्यक्ष मायादेवी रानाले पदममायालाई रातो टीका र पछ्यौरी ओढाएर सम्मान गरेकी हुन् । एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण फेर्न आफूले रातो पछ्यौरीसँगै रातो टीका लगाएको पदममायाले बताइन् । ‘मुखले नारी पुरुष बराबरी भने पनि पुरुषप्रधान देशमा नारीहरु अपहेलित भएको अवस्था छ; उनले भनिन्; त्यसैले पनि आज रातो टीका ग्रहण गरेँ ।’

म्याग्दे ३ धयरेनिवासी अञ्जु आलेले पनि विवाहको चार वर्षमा श्रीमान् गुमाएकी थिइन् । श्रीमानको मृत्युपछि भर्खर कलकलाउँदो र रंगिन हुनुपर्ने उमेरमा उनको पहिरन भने फिक्का बन्यो । रातो पहिरन लगाउन मन भए पनि समाजले नराम्रो सोच्ला भन्ने डर उनमा थियो । समाज परिवर्तन हुनुपर्छ भन्ने सोचेर अञ्जुले २८ महिनामा रातो पछ्यौरी पहिरिइन् ।

कार्यक्रमको शुरुआतमै गाउँपालिका अध्यक्ष मायादेवी रानाले पनि रातो टीका र पछ्यौरा ग्रहण गरेकी थिइन् । उनलाई आफ्नै साइँली जेठानी सुकमाया राना र काइँली जेठानी विष्णुमाया रानाले रातो टीका लगाएर पछ्यौरी ओढाइदिए । अध्यक्ष रानाले चार वर्षअघि मात्रै श्रीमान् गुमाएकी थिइन्।

हिन्दू परम्पराअनुसार, श्रीमान् गुमाएपछि रातो टीका र पहिरन नै लगाउन हुँदैन भन्ने सामाजिक मान्यता छ । त्यस्तो सामाजिक मान्यता चिर्नका लागि एकल महिलालाई रातो टीका र रातो पछ्यौरा ओढाउने कार्यक्रम गरिएको अध्यक्ष रानाले बताइन् । ‘यो कार्यक्रम गर्दा कतिले प्रशंसा गरेका छन् भने कतिले आलोचना पनि; उनले थपिन्; ‘ती नकारात्मक कुरालाई पनि ऊर्जामा रूपान्तरण गर्छु ।’ एकल महिलालाई आत्मनिर्भर बनाउन विविध कार्यक्रम बनाउने पनि रानाले प्रतिबद्धता व्यक्त गरिन् ।

म्याग्दे गाउँपालिका ४ थर्पु बजारमा आयोजित कार्यक्रममा गाउँपालिकाले १२७ एकल महिलालाई रातो टीका र पछ्यौरीले सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए। रासस