काठमाडौँ – २०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भयो । एकीकरणपछि नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भयो । नेकपामा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुबै अध्यक्ष रहने व्यवस्था गरियो । पहिले नै निर्वाचन आयोगमा नेकपा नामको पार्टी दर्ता भएपनि शक्तिको दुरुपयोग गरि प्रचण्ड र ओलीले नयाँ नेकपा दर्ता पनि गराए ।


ADVERTISEMENT


एकीकरणताका ओली र प्रचण्डले एकअर्काको खुब तारिफ पनि गर्न भ्याए ।


ADVERTISEMENT

# # #


एकीकरणतापश्चात् प्रचण्ड र ओलीबीच ५ वर्षको सरकार आधा आधा अवधि चलाउने सहमति भएपनि अढाइ वर्ष पुग्दा पनि ओली प्रधानमन्त्री पद छाड्न तयार भएनन् । अनि नेकपाभित्र किचलो शुरू भयो । अन्ततः नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र प्रचण्डले ओलीमाथि अविश्वासको प्रस्ताव दर्ता गर्ने योजना बनाए ।

अविश्वासको प्रस्ताव दर्ता हुन लागेको थाहा पाएपछि गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् नै विगठन गरिदिए । एमालेबाटै राजनीति गर्दै आएकी राष्ट्रपति विद्यादेवी भण्डारी ओली पक्षप्रति उदार हुने गरेको आरोप लाग्ने गरेकोमा त्यो दिन ओलीको सिफारिसलगत्तै भण्डारीले संसद् विघटन गरिदिइन् ।

संसद् विघटनपछि नेपाली राजनीतिले अर्कै मोड लियो । राजनीति झनै अस्थिर बन्यो र प्रचण्ड–नेपाल समूह सडक आन्दोलनमा निस्कियो । त्यसपछि ओली र प्रचण्ड–नेपाल समूह अभद्र र अराजनीतिक हुँदै एकअर्काप्रति तल्लोस्तरको आलोचना गर्न थाले । संसद् विगठनको निर्णयविरुद्ध सर्वोच्चमा रिट पर्यो ।

दुई महीनापछि गत फागुन ११ मा सर्वोच्चले संसद् विघटनको निर्णयविरुद्धको रिटमा फैसला गर्दै संसद् पुनस्थापना गरिदियो । ओली समूहलाई सर्वोच्चको फैसला चित्त नबुझेपनि प्रचण्ड–नेपाल समूहले भने लड्डु खान समेत भ्याए । तर त्यसको एक सातामै सर्वोच्चले दुई वर्ष अघिको रिटमाथि फैसला गर्यो । दुई वर्षदेखि रोकिएको नेकपा नाम विवादमाथि फैसला गर्दै सर्वोच्चले आइतवार मात्रै नेकपा नामको अधिकार ऋषि कट्टेलको पार्टीलाई रहने फैसला गर्दै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदियो ।

सर्वोच्चको यस्तो फैसलाले प्रचण्ड–नेपाल समूहलाई कठिनमा पारेपनि आइतवार अदालतको निर्णय मान्ने भन्दै उनीहरुले पूर्ववत रुपमा फर्किने निर्णय गरेका छन् ।

तर अहिलेसम्म वैधानिक रुपमा नेकपाको एकीकरण भंग भने भइसकेको छैन । आज निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्रलाई नाम मिलेका कारण नेकपा दर्ता हुन नसक्ने भन्दै पत्र पठाउँदैछ ।

जसकारण नेकपा पूर्ववत रुपमा फर्किने गरी विभाजनको संघारमा छ । तर टुक्रिनसक्दै फेरि एकताको तयारी अगाडि बढाइएको छ । ओली र प्रचण्ड दुबै पक्षका केही नेताले एकता कायम राख्नुपर्ने बताइरहेको बेला ओलीले राजीनामा दिने र ओली पक्षबाटै नयाँ प्रधानमन्त्री चयन गर्ने गरी परामर्श अघि बढेको ओली निकट उच्च स्रोतले जनाएको छ ।

सोमवार सम्पन्न नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले पनि एकतालाई जोगाउन नयाँ ढंगले अघि बढ्नुपर्ने निर्णय गरेको छ ।