प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ राजनीतिक दलहरूले आइतबार निर्वाचन आयोगमा उम्मेदवारको बन्दसूची बुझाएका छन् । आयोगमा बन्दसूची दर्ता गराउने कार्य राति अबेरसम्म जारी छ । ५५ दलले बन्दसूची बुझाउने भएको आयोगले जनाएको छ । मंसिर १० र २१ मा हुने संघीय प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि दलहरूले अलगअलग सूची बुझाएका हुन्।आयोगमा केही दल सूची बुझाउन कार्यालय समय सकिने बेलामा पुगेकाले सोमबार मात्र दर्ता कार्यक्रम सकिने प्रवक्ता नवराज ढकालले बताए । आइतबार ५ बजेभित्र बन्दसूची बुझाइसक्नुपर्ने भए पनि दलहरू ढिलो पुगेका कारण राति अबेरसम्म निर्वाचन आयोगमा दर्ता गर्नेको भीड थियो। कात्तिक १२ सम्म दलहरुले समानुपातिक उम्मेदवारको सूची संशोधन गर्न पाउने व्यवस्था मिलाइएको छ । संशोधन गर्न पाइने भएकाले अहिले दलहरूले प्रारम्भिक सूची बुझाएका छन् । आयोगले कात्तिक १७ गते समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक गर्ने छ । दाबी विरोधपछि मंसिर ३ मा समानुपातिक उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ। समानुपातिकतर्फ दलहरूले संघीय प्रतिनिधिसभातर्फ १ सय १० जना र प्रदेशसभातर्फ २ सय २० जनाको सूची बुझाउन पाउँछन् । आयोगमा दर्ता भई ८८ दलले निर्वाचन चिह्न लिइसकेका छन् । समावेशी तालिका अनुसार दलहरूले सूची बुझाएनबुझाएको आयोगले हेरी खबर गर्ने प्रवक्ता ढकालले बताए । उनले भने, ‘कात्तिक ६ देखि १२ सम्म दलले बन्दसूची संशोधन गरेर बुझाउन पाउनेछन् । १३ गते दलहरूले अन्तिम सूची दिनुपर्छ ।’समानुपातिकतर्फ कुनैपनि दलले सदर मतको ३ प्रतिशत ल्याउन नसके सिट नपाउने कानुनी व्यवस्था छ । मत प्रतिशत कम आउने भएकाले कतिपय साना दल ठूला दलमा गाभिएका छन् ।


ADVERTISEMENT