नारायण अधिकारी, गुल्मी –आफन्तसँग ढाँटेर एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका छन् ।


ADVERTISEMENT


नेपालमै व्यवसाय गर्छुभन्दा ऋण नपत्याइएपछि विदेश जान भन्दै ऋण लिएका गुल्मीका शङ्कर भण्डारीको नेतृत्वमा अहिले ११ होटल र रेष्टुराँ छन् । विसं २०३९ मा गुल्मीको तत्कालीन रुपकोटमा जन्मिनुभएका भण्डारीले विसं २०५९ मा आफन्तसँग एक लाख ऋण लिएर साझेदारीमा काठमाडौँको सुन्धारामा होटल शुरु गरे ।


ADVERTISEMENT

# # #


मान्यजन आफन्तसँग काम गर्दा आफू होचिएको महसुस गरेसँगै उहाँले नजिकै परिवारले हेर्ने गरी किराना पसल थप गरे । पसल सञ्चालनका लागि थोरै पैसा ऋण पाएपछि उनले सोही पैसाले किराना पसल शुरु गरे । पसलमा सामान राख्ने ठाउँ खुल्ला देखिएपछि अन्यत्रबाट खाली कार्टुन ल्याएर र्याक भरेको उनी सम्झिन्छन् । उनले भने, ‘पसल शुरु गर्दा ५० हजार मात्रै थियो, त्यसले सामान धेरै आएन, अन्यत्रबाट कार्टुन ल्याएर पसल भरेँ ।’ ३० हजारको र्याक बनाएपछि ५० हजारको सामानबाट उनले पसल शुरु गरे ।

सो पसल शुरु भएको दिनदेखि नै निकै राम्रो व्यापार भएको स्मरण गर्दै उनले भने, ‘दैनिक एक लाख ५० हजारसम्मको व्यापार भयो ।’ आफूलाई भने होटलमै लगाव भएकाले साझेदारीको होटल छाडेर विसं २०६३ मा सुन्धारामै एउटा घर भाडामा लिएर उनले प्रेसिडेन्ट होटल शुरु गरे ।

होटल शुरुआती अवस्थाको दुःख सम्झँदै उनले भने, ‘पैसा नभएपछि २० कोठे घरको चार कोठा मात्रै तयार पारेर होटल शुरु गरेँ ।’ क्रमशः किराना र होटलको कमाइले उक्त होटल एक वर्ष लगाएर पूर्ण क्षमतामा सञ्चालन गरेको उनले बताए । त्यतिबेला उनीसँग एक साझेदार पनि थिए ।

निरन्तरको मिहिनेतसँगै होटलले व्यवसायमा फड्को मार्दै गयो । विसं २०६५ मा सुन्धारामै ४० कोठाको अर्को घर लिएर उनले होटल शुरु गरे । दुवै होटलको सफलताले उनलाई त्यतिकैमा रोकिन मन लागेन । उनले विसं २०६९ मा रुपन्देहीको लुम्बिनीमा १५ कोठाको होटल शुरु गरे । त्यसैगरी विसं २०७२ सालमा बालाजुमा २० कोठाको होटल शुरु गरे ।

होटलको व्यवसाय फस्टाउँदै गएपछि उनलाई रेष्टुराँमा हात हाल्ने हौसला मिल्यो । त्यससँगै विसं २०७३ मा सुन्धारामा प्रेसिडेन्ट सेकुवा शुरु गर्नुभयोरे । सेकुवाको स्वादले धेरैको मन लोभ्याएपछि उनलाई थप रेष्टुराँ खोल्ने चाहना बढेर गयो । क्रमशः कलङ्कीको रविभवन, महाराजगञ्ज, माछापोखरी र चितवनको भरतपुरमा प्रेसिडेन्ट सेकुवा शुरु गरे।

भरतपुरमा सेकुवाको व्यापार शुरुसँगै उनलाई चितवनको ताससँग खेल्न रहर जाग्यो । यही रहरले नारायणगढको पुलचोकमा आजबाट प्रेसिडेन्ट तास बजार शुरु गरेका छन् । चितवनमा प्रख्यात खशीको मासुबाट बनाइने तासलाई विविधिकरण गर्दै उनले कुखुरा, अण्डा र आलुको समेत तासको मेनु ग्राहकसामु ल्याएका छन् । उनले भने, ‘हामीकहाँ चितवनमा नपाइने धेरै प्रकारका तास पाईन्छ ।’

उनले व्यवसायमा एकपछि अर्को गर्दै फड्को मार्ने क्रम भने अझै रोकिएको छैन । उनले बालाजुमा आगामी चैतबाट बेकरी शुरु गर्दै छन् भने चितवनकै कुरिनटारमा साझेदारीमा ३० कोठाको रिसोर्ट निर्माणको प्रक्रिया शुरु गरेका छन् । रिसोर्टबाहेक अन्यमा ७० प्रतिशत उनको आफ्नै लगानी छ भने ३० प्रतिशत स्थानीय र कर्मचारीलाई शेयर दिएका छन् ।

व्यापारमा गरेको आम्दानीले अर्को होटल र रेष्टुराँ खोल्दै चेनको विकास उनले गरिरहेका छन् । देशका प्रमुख शहरहरुमा रेष्टुराँ खोल्ने उनको चाहना छ । उनले भने, ‘काठमाडौँमा मात्रै २० वटा रेष्टुरेण्टका आउटलेट खोल्ने तयारी गर्दैछु ।’ होटल रेष्टुराँबाट कमाएको रकम घरजग्गा किन्न खर्च नगरेको भन्दै उनले भने, ‘अहिले पनि म भाडामा बस्छु, बस्ने घरभन्दा एउटा थप होटल वा रेष्टुरेण्ट खोल्ने मेरो चाहना छ ।’ २५० जना हाराहारीलाई रोजगारी दिलाएको बताउँदै उनले भने, ‘धेरैलाई साहू बनाउने र रोजगारी दिलाउने अभियानमा म लागिरहेको छु ।’

‘न्यून दरमा सेवा र गुणस्तर तारे होटलसरह’ भन्ने नाराका साथ लागेका उनले स्वच्छ वातावरण, सरल ठेगानास्तरीय सेवा र स्वादिष्ट खानामा नै ध्यान पुर्याएका कारण सफलता मिलेको बताए । एउटा होटल वा रेष्टुराँ सञ्चालन गर्न ५० लाखदेखि दुई करोडसम्म खर्च भएको उहाँनको भनाइ छ ।

कम खर्चमा बनेको सुन्धाराको होटलमा ५० लाख लगानी भएको बताउँदै उनले भरतपुरको सेकुवामा दुई करोड खर्च भएको जानकारी दिए । रासस