सरोजकाजी तुलाधर
अध्यक्ष, नेपाल वित्तीय संस्था संघ


ADVERTISEMENT


अहिले फाइनान्स कम्पनीको अवस्था कस्तो छ ? कसरी काम अघि बढिरहेको छ ?


ADVERTISEMENT

# # #


फाइनान्स कम्पनीहरू कसरी अगाडि बढिरहेका छन् भनेर फाइनान्स कम्पनीको सञ्चालक र फाइनान्स कम्पनी एशोसिएसनको अध्यक्ष भएका नाताले पक्कै पनि मैले फाइनान्स कम्पनी राम्रै गरी सञ्चालन गरिरहेको बताउँछु । त्यसकारण यस विषयमा मैले टिप्पणी गर्नु अतिशयुक्ती हुन्छ होला । यसको टिप्पणी गर्ने जिम्मेवारी तपाईँहरू एवं सेवाग्राहीले लिइदिनुपर्छ । किनभने फाइनान्स कम्पनीले कसरी काम गरिरहेका छन् बजारले भन्ने कुरा हो । कसरी काम गरिरहेका छौँ भन्ने चाहिँ यहाँ उल्लेख गर्न सान्दर्भिक हुन्छ होला । पहिला भन्दा अहिले फाइनान्स कम्पनी धेरै बलियो भएर हिँडेका छौँ, विकास र वाणिज्य बैंकहरुले अब फाइनान्स कम्पनीहरु प्रतिस्पर्धी हुन् भन्ने स्वीकारेर अघि बढेको अवस्था छ यो ठूलो उपलब्धि हो जस्तो लाग्छ मलाई । र साँच्चै हामी प्रतिस्पर्धी हौँ पनि । हाम्रो बजार शेयर कुल अर्थतन्त्रमा कम छ, जम्मा ३ प्रतिशत मात्र हो । तथापि, यति हुँदाहुँदै पनि हाम्रो जुन किसिमको काम गराइ छ, जसरी हामीले ग्राहकलाई सेवा दिइरहेका छौँ त्यस हिसाबले सानै भएर पनि उत्कृष्ट सेवा हामीले दिइरहेका छौँ । तर समग्र अवस्था कस्तो छ भनेर भन्ने बजारले नै हो ।

फाइनान्स कम्पनीको लक्षित समूह कुन हो ?

कुनैपनि वित्तीय संस्थाको आफ्नो लक्ष्य यही हो भन्ने हुँदैन भन्ने मलाई लाग्छ । बाफियाअन्तर्गतको विभिन्न चार ग्रुपमा बाँडिएकोमा ‘डी’ ग्रुपले मात्र पपमप क्षेत्रमा गएर मात्र ऋण प्रदान गर्छौँ भनेको छ । बाँकी सबै वित्तीय संस्थाको त्यस्तो यही भनेर लक्षित समूह छैन । एउटा मात्र फरक केमा मात्र छ भने वाणिज्य बैंकले विदेशी नेटवर्कसँग कारोवार गर्न पाउँछन् किनभने तिनमा विदेशी मुद्रा समावेश हुन्छ र बाफियाले फाइनान्स कम्पनीलाई विदेशी नेटवर्कसँग कारोवार गर्न दिएको छैन । तथापि, अहिले फाइनान्स कम्पनीहरुले विदेशी मुद्रा किनबेच गर्न सक्ने अवस्थामा पुगेका छौँ ।

अहिलेको गाइडलाइन्सअनुसार हामीले एलसी खोल्न परेमा वाणिज्य बैंकसँग सहकार्य गरेर एलसी खोल्छौँ । यसबाहेक यही क्षेत्र भनेर हाम्रो कुनै लक्षित समूह छैन । व्यक्तिले कुनै काम गर्नका लागि ऋण लिन चाहेमा वाणिज्य बैंकसँग उसको पहुँच नभएर सामान्यतया हाम्रोमा ऋण लिन आउने हो । र हामीकहाँ ऋण लिइसकेपछि उसको नाफा बढ्दै गएर त्यसपछि मात्र वाणिज्य बैंकले त्यसलाई फिसिङ गर्ने हो । किनभने अब ऊसँग बैंकिङ कारोवारको इतिहास हुन्छ । हामी बिना बैंकिङ कारोवारको इतिहास पनि जोखिम मोलेर नयाँ लगानीकर्तालाई ऋण प्रदान गर्छौँ । अझैँ पनि कतिपय, काठमाडौँमा समेत गरी थुप्रै मानिसहरुले बैंकिङ क्षेत्रबाट नभएर साहूहरुबाट ऋण लिन्छन् । त्यसकारण यही क्षेत्र नभनी हामीले नगद जम्मा गर्ने र ऋणको दिने काम गरिरहेका छौँ ।

आम सर्वसाधारणलाई फाइनान्ससँग जोड्न कस्ता प्रयास भइरहेका छन् ?

एलसी खोल्नलाईबाहेक हामीले सबै क्षेत्रमा सेवा दिन सक्छौँ । सेवा दिँदाखेरि ‘पेड डिले इज पेड डिनाइड’ भने जस्तै काम गरिरहँदा समयमै पैसा नपाउने हो भने त्यो पैसा नभए बराबर नै हुन्छ । जति रकम चाहिने हो त्यो समयमै दिन नसक्ने हो भने व्यापारीलाई घाटा हुन्छ । र त्यो ठाउँमा हामी मुलतः हामी जोडिएका छौँ । चाँडै प्रक्रिया गरेर चाहिने ऋण सही समयमा प्रदान गरिरहेका छौँ ।

फाइनान्स कम्पनीका लागि आागामी के कस्ता योजना बनाउनु भएको छ ?

कोभिडपछिको समय भनेको अब डिजिटल अर्थतन्त्रको युग हो । जसकारण हाम्रो पहिलो प्राथमिकता सबै सेवा डिजिटलाइज गर्दै डिजिटल ब्रान्च विस्तार गर्ने प्राथमिकतामा राखेका छौँ । एशोसिएसनभित्र अहिले भइरहेको छ भने ब्रान्च पुगिसकेको ठाउँमा त्यसैको नजीक अर्को ब्रान्च किन खोल्ने ? ब्रान्च नपुगेका ठाउँमा सेवा विस्तार गर्नुपर्छ भन्ने छलफल भइरहेको छ । हामी फरक फाइनान्सबाट सेवा प्रदान गर्न सक्ने गरी योजना बनाएर अघि बढेका छौँ । नजीकको अन्य फाइनान्समा गएर पनि फाइनान्सको सुविधा लिन सक्ने सफ्टवेयर हामी विकास गर्न सक्छौँ । यसले हाम्रो लागत घट्ने र भएका संस्थाबाट प्रभावकारी रुपमा सेवा प्रदान हुन्छ । रुपमा सबै फाइनान्स कम्पनीहरु मिलेर अरुसँग प्रतिस्पर्धा गर्न सक्छौँ भन्ने ठानेर यो योजना अगाडि सारेका छौँ ।

केही बाधाहरु छन् यद्यपि, यो गर्न सकेमा जसरी अहिले कुनै पनि बैंकमा भएको पैसा आफ्नो बैंकमा पठाउन सकिने जस्तै फाइनान्समा पनि त्यस्तो सेवा उपलब्ध हुन्छ । ब्रान्च नै खोलेर लाग्नुभन्दा यसरी गर्न पाएभने अर्थतन्त्र पनि बढ्छ र पूँजी पनि बढ्छ । अर्को अहिले बाफियामा २-३ वटा कुराको व्याख्या अपुग छ जस्तो मलाई लाग्छ । अहिले विकास र वाणिज्य बैंकहरुले बैंक लेख्छन्, माइक्रोफाइनान्सले पनि पहिले बैंक लेख्ने गरेकामा अझैँ कतिले बैंक नै लेखिरहेका छन् । हाम्रो एउटा मात्र छ जुन चाहिँ फाइनान्स कम्पनी भनेर आउँछ । हामीले पनि बुझाउन नसकेर हो वा अन्य कारणले फाइनान्सलाई बैंक लेख्न दिनुपर्छ भन्ने बुझाउन सकिएको छैन । अहिले सहकारीलाई नै फाइनान्स भनेर बुझ्ने गरेकाले पनि हामीलाई गाह्रो भएको छ । सहकारी संस्थाहरु सहकारीमा रजिष्टर भइरहेका हुन्छन् तर हामी चाहिँ बाफियाबाटै आएका कारण बैंक लेख्न पाउनुपर्ने हो, हामी अहिले वित्तीय बैंक लेख्न पाउनुपर्ने विषय उठाइरहेका छौँ । यो भयो भने धेरै हदसम्म पहिचानको अभाव छ यो हट्छ जस्तो लाग्दछ ।

वित्तीय बैंक लेख्नका लागि पहल कहाँसम्म पुगेको छ ?

बाफिया मान्यताको कुरा अर्थमन्त्री डा. युवराज खतिवडा हुँदाखेरि आएको थियो । उहाँ गएपछि त्यसको प्रक्रिया अघि बढेको छैन । भर्खरै संसद् पुनःस्थापना भएको छ । अब यही सरकारबाट वा नभए नयाँबाट अगाडि बढ्ला त्यतिन्जेलसम्म कुरेर बस्नुको विकल्प छैन । हामीले राष्ट्र बैंक, अर्थ मन्त्रालय र अर्थ समितिमा यसको पहल गर्ने हो, जुन गरिरहेका छौँ । यो हामीलाई मात्र फाइदा हुने नभएर सिँगो अर्थतन्त्रकै लागि फाइदा हुने कुरा हो, उहाँहरुले पनि यसलाई गम्भिरताका साथ लिनुभएको छ ।

अन्त्यमा सेवाग्राही तथा सरोकारवाला निकायलाई के भन्नुहुन्छ ?

हाम्रो नियामक संस्था राष्ट्रबैंकलाई म धन्यवाद दिन चाहन्छु । हामीलाई ट्र्याकमा राख्ने उहाँहरुको काम हो । फाइनान्स कम्पनीप्रति उहाँहरुले जुन हार्दिकता देखाउनु भएको छ त्यसका लागि धन्यवाद दिन चाहन्छु । अर्थ मन्त्रालय र अर्थ समितिबाट पनि सकारात्मक कुरा आइरहेकाले हामी आशावादी छौँ । हामीलाई विश्वास गरे देशको अर्थतन्त्रमा राम्रो योगदान गर्न सक्छौँ होला ।