काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा.भीम बहादुर रावलले आफूहरुले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको र सबै कमिटीमा आफूहरुसँग बहुमत रहेको स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


सर्वोच्च अदालतले प्रतिनिधिसभा पूनःस्थापना गरिसक्दापनि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिनु अर्को असंवैधानिक कदम भएको उनको टिप्पणी छ ।


ADVERTISEMENT

# # #


आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले केपी ओलीजस्तो असंवैधानिक र अनैतिक नेता संसारमा कोही पनि नभएको पनि बताए । उनले भने, ‘अदालतबाट प्रतिनिधिसभा पूनःस्थापना भैसकेको छ । तर, उहाँले प्रधानमन्त्रीबाट म हट्दिन भन्नु असंवैधानिक हो । केपी ओलीजस्तो असंवैधानिक र अनैतिक नेता तानाशाह र सैनिक शासकबाहेक संसारमा कोही पनि देखेको छैन् ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आफूहरको मुख्य लडाई भनेको लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाको लागि भएको प्रतिक्रिया दिए । उनले भने,‘लोकतान्त्रिक मान्यताको रक्षा हुने कि नहुने भन्ने नै हाम्रो मुख्य प्रश्न हो । देशलाई नेतृत्व गर्छु भन्ने व्यक्ति यत्ति अनैतिक बन्न मिल्छ ? उहाँले त फैसला सुन्नेबित्तिकै राजीनामा दिनुपर्दथ्यो ।’

उनले नेकपाको विधान र संसदीय दलको विधानअनुसार आफूहरु अघि बढेको पनि स्पष्ट पारे । रावले केपी ओलीको त गणपुरक संख्या नै नपुग्ने जिकिर गरे । उनले भने,‘बहुमतले गरेको निर्णयमात्रै आधिकारिक हुन्छ । केन्द्रीय कमिटीले निर्देशन दिएअनुसार हुन्छ । पार्टीको विधान र संसदीय दलको विधानबाहेक उहाँहरुको कुरा स्थापित हुँदैन् ।’
नेकपा ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले हिजो क्लबकै साक्षात्कारमा पार्टीको ह्विप नमान्नेलाई कारबाही गरिने भनेर दिएको चेतावनीमा रावलले आपत्ति जनाए । उनले भने,‘हजोसम्म कारबाही नगरेको एक जना सांसदले अरुलाई कारबाही गर्ने कुरा गरेछन्, बरु तीनलाई हाम्रो केन्द्रीय कमिटीले कारबाही गर्न सक्छ । हामीसँग बहुमत छ भनेर देखाउन यस्तो भ्रम फैलाए ।’

प्रधानमन्त्री ओलीको कदमविरुद्ध सबै दल, नागरिक समाज, बुद्धिजिवी आन्दोलनमा उत्रिएको उल्लेख गर्दै उनले लोकतन्त्रको रक्षाको लागि सडकमा आउने सबै शक्तिसँग सहकार्य गरिने पनिउनले सुनाए ।

रावलले अब को प्रधानमन्त्री हुन्छ ? भन्ने कुरा आफूहरुको लागि ठूलो कुरा नभएको पनि सुनाए । उनले भने, ‘प्रधानमन्त्री को हुन्छ ? भन्ने हाम्रो विषय होईन् । सर्वोच्च अदालतले यत्रो फैसला गरेको छ, हाम्रो पार्टी नेपाली कांग्रेस जसपा दल, नागरिक समाजसँग सहकार्य गर्न चाहन्छ ।’

उनले थपे, ‘हामीलाई मन्त्री हुने, प्रधानमनत्री हुने हतारो छैन् । कानून हाम्रो पक्षमा छ । हामीले हतारो नगरेको हो । राष्ट्रिय हितलाई माथि राख्नुपर्यो । अहिले हामी छलफलमा भएकोले हतारो नगरेको हो ।’

प्रधानमन्त्री ओलीलाई यसअघि नै कारबाही गरिसकेको सुनाउँदै अब एकता नहुने रावलको भनाई छ । त्यस्तै, आफ्नो पार्टीका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपालले पनि प्रधानमन्त्री हुन्छौं भनेर नभनेको सुनाउँदै रावलले भने,‘प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री हुन्छौं भनेर दाबी गर्नुभएको छैन् । सहमतिबाट जो पनि बन्ने भयो ।’

उनले एमससीसी पारित गर्ने भनेर हल्ला गरिएको पनि गुनासो पोखे ।

रावलले अहिले आफूहरुको मुख्य विषय प्रधानमन्त्री ओलीमाथि भएकोले राष्ट्रपति विद्यादेवी भण्डारीलाई कारबाही नगर्ने सुनाए ।

सांसदहरु खरिदबिक्रि सुरु भयो अरे नि भनेर सोधिएको अर्को प्रसंगमा रावलले भने,‘देशको प्रधानमन्त्रीले, सांसद किनबेच सुरु भयो भन्नु देशको अपमान हो । लोकतन्त्रको अपमान हो । हाम्रो त दिमागमा पनि त्यस्तो आउँदैन् । तर, ओलीको दिमाग नै त्यस्तो छ ।’