दिलकुमार लिम्बू ,फुङलिङ– ताप्लेजुङमा अलैँची उत्पादन वृद्धि भएसँगै बजार मूल्य घट्दै गएकाले कृषकले राम्रो लाभ लिन नसक्दा दिन प्रतिदिन अलैँची कृषक निरास हुँदै गएका छन् । प्रमुख नगदेबालीका रुपमा रहेको अलैँचीले उचित मूल्य नपाउँदा खेतीमा संलग्न कृषकले राम्रो लाभ लिन नसकेको फक्ताङलुङ गाउँपालिका ६ का अलैँची कृषक सन्तकुमार फेम्बुले बताए ।


ADVERTISEMENT


शुरुमा राम्रो आम्दानी भएपछि खेतीप्रति उत्साहित बनेका किसान अहिले उत्पादित अलैँचीबाट उचित मूल्य नपाउँदा भने निरास भएको अलैँची कृषक सन्तकुमार फेम्बुको भनाई छ । आजभन्दा छ/सात वर्षअघि राम्रो मूल्य आएका कारण खेती गर्न हौसिएका किसानले अलैँची उत्पादन वृद्धि हुँदै गए पनि केही वर्षयता भनेजस्तो मूल्य नपाउँदा अलैँची उत्पादक किसानमा निरासा हुन थालेको मेरिङदेन गाउँपालिका ७ निवासी अलैँची कृषक विमना लिम्बूले बताइन् ।


ADVERTISEMENT

# # #


पछिल्लो केही वर्षयता सोचेजस्तो मूल्य नआएका कारण फाइदा लिन नसकेका किसानले यस वर्ष पनि उत्पादन वृद्धि भएको तर अलैँचीको मूल्य भने वृद्धि नभएकाले किसान मारमा परेका छन् । यो वर्ष ताप्लेजुङमा दुई हजार ९६० मेट्रिक टन अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथरले जनाएको छ ।

जिल्लामा गत वर्षभन्दा यस वर्ष १० देखि १५ प्रतिशतले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर बिष्टले जनाए । जिल्लामा अलैँची खेती गरिएको कूल चार हजार ३०२ हेक्टर क्षेत्रफलमध्ये चार हजार २५८ हेक्टर क्षेत्रफल बराबरको खेतीबाट नियमित उत्पादन भइरहेको बिष्टले बताउनुभयो । जिल्लाको नौ स्थानीय तहका ६१ वडामध्ये फक्ताङलुङ गाउँपालिका ७ ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैँची खेती गर्दै आएको बिष्ट बताउँछन् ।

यता हालको बजार मूल्यअनुसार अलैँची खेती तथा उत्पादनका लागि गरिएको लगानी र श्रम नउठ्नै समस्या भएको फक्ताङलुङ गाउँपालिका ६ निवासी विर्ख लिम्बूलेजानकारी दिए । अलैँची किसान अहिलेको बजार मूल्यले अलैँचीमा भएको लगानी नधान्ने बताउाछन् । शुरुमा अलैँचीको राम्रो मूल्य आएपछि सोहीअनुसार श्रमिकको मूल्य बढेको तर अहिले मूल्य घट्दा श्रमिकको श्रम मूल्य भने नघटेकाले हालको अलैँचीको बजार मूल्यले लगानी नधान्ने उनीहरुको भनाई छ ।

केही वर्षयता अलैँचीको सोचेजस्तो मूल्य नआउँदा किसानलाई खेती छोड्ने कि सम्हाल्ने भन्नेमा दोधारमा पु¥याएको सिदिङ्वा गाउँपालिका ७ सुरुम्खिमका किसान बुद्ध दाहालले बताए । शुरुमा राम्रो मूल्य आएपछि अन्न उत्पादन हुने खेतीयोग्य जमीनसमेत मासेर अलैँची खेती शुरु गरेका किसानलाई पछिल्लो समय मूल्य आउन छोडेकाले चिन्तित बनाएको दाहालको भनाई छ । उनका अनुसार, अलैँचीले मूल्य पाउने आसै–आसमा किसानले केही वर्षयता समय बिताउनुपरेको छ ।

यस वर्ष अलैँची बजारमा निस्कन थाल्दादेखि नै सोचेजस्तो मूल्य नआएको किसान तथा व्यवसायीको भनाइ छ । सदरमुकाम फुङ्लिङ बजारमा बिहीबार अलैँची प्रतिमन (४० किलाग्राम) रु. २४ हजार ५०० मा कारोवार अलैँची जोन ताप्लेजुङका अध्यक्ष तथा वरिष्ठ उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष दिनेश अधिकारीले बताए । विगत एक साताअघि देखि नै सोही मूल्यमा अलैँचीको कारोवार भइरहेको अधिकारीले जानकारी दिए । गोलसाई जातको अलैँची भने प्रतिमन रु. २६ हजारमा कारोवार भइरहेको अधिकारीले बताए ।

यस वर्ष हालसम्म अधिकतम प्रतिमन रु. २८ हजार र न्यूनतम २० हजारमा अलैँचीको कारोबार भएको अधिकारीले जनाए । कुनै बेला रु. एक लाख २० हजारसम्ममा समेत अलैँची कारोवार भएको स्मरण गर्दे उनले हालको मूल्यले भने किसान र व्यवसायी दुवैलाई फाइदा नरहेको प्रस्ट पारे । प्रमुख नगदेबालीका रुपमा रहेको अलैँचीको मूल्य नआउँदा ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लामा आर्थिक चलखेलमा प्रत्यक्ष असर पुगेको व्यवसायी बताउँछन् । रासस