काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रतिनिधिसभाको बैठक सर्वोच्च अदालतले तोकेको निर्धारित मितिभित्रै आह्वान गरिने बताएका छन् ।


ADVERTISEMENT


बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली समूहको स्थायी कमिटीको बैठकका निर्णय सुनाउँदै ज्ञवालीले पार्टीले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालत आदेशलाई कार्यान्वयन गर्दै निर्धारित मितिमै बैठक आह्वान गर्ने जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


यद्दपी प्रतिनिधिसभा पुनर्स्थापनापश्चात राजनीतिक अस्थिरता, संसदभित्र असैद्धान्तिक र नीतिहीन गठबन्धनहरु नहोस् भन्नका लागि पार्टीले सबै पक्षहरुसँग छलफल गर्ने उनले बताए ।

सर्वोच्चको फैसलापछि प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने दलहरुको मागबारे उनले आवश्यक परामर्शपछि प्रधानमन्त्रीले जे गर्दा देशको लागि उपयुक्त हुन्छ त्यही गर्ने प्रतिक्रिया दिए ।

वि.सं. २०६७ असारमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले राजनामा दिएपछि १७ पटकसम्म संसदमा प्रधानमन्त्रीका लागि चुनाव भए पनि निर्णय हुन नसकेको स्मरण गर्दै उनले मुलुकलाई अन्योलमा राख्ने गरी प्रधानमन्त्रीको राजीनामा नआउने संकेत गरे । उनले भने, ‘यसपछाडिको परिदृश्य के भन्ने कुरा प्रस्ट नपारिकन जिम्मेवार मान्छेले त्यत्तिकै जिम्मेवारीबाट पन्छिन मिल्दैन । त्यसकारण हामी आवश्यक परामर्शपछि आवश्यक निर्णय लिन्छौँ ।’

प्रधानमन्त्री र मन्त्रीहरुका लागि पद भन्दा पनि मुलुकले राजनीतिक स्थायित्व पाउँछ कि पाउँदैन, जनताका अपेक्षा अनुसार काम हुन्छ कि हुँदैन भन्ने कुरा प्रमुख रहेको उनले बताए । ‘त्यो कुराको आधार तय भइसकेपछि जुन ढंगले हामी अघि बढ्नुपर्छ त्यसरी नै अघि बढ्छौँ । यसका लागि सम्भवतः सबै पक्षसँग हामी परामर्श गरिरहेकै छौँ’, उनले भने ।

मंगलबार प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई असंवैधानिक ठहर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।