काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले सर्वोच्च अदालतले गरेको प्रतिनिधिसभा पुनर्स्थापनाको फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


सर्वोच्चले संसद पुनर्स्थापना गरेसँगै पहिलो पटक बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उक्त निर्णय गरेको सो समूहका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
नेकपा शक्तिपृथकीकरण, लोकतन्त्रका आधारभूत मूल्य मान्यताहरु र विधिको शासनमा विश्वास गर्ने पार्टी भएको बताउँदै सर्वोच्चको फैसलालाई पार्टीले कार्यान्वयन गर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘हिजो सर्वोच्च अदालतको संवैधानिक इजलासबाट भएको फैसला, त्यसका समग्र प्रभाव र त्यसको कार्यान्वयनमा केन्द्रित रहेर छलफल गरेका छौँ ।’ उनले भने, ‘हामीले बनाएको संविधानले संविधानको अन्तिम व्याख्याताका रूपमा सर्वोच्च अदालतलाई स्थापित गरेको छ । त्यसअर्थमा हिजो संवैधानिक इजलासले गरेको फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरेका छौँ ।’

यद्दपी सर्वोच्च अदालतको फैसला अनपेक्षित रहेको उनले दाबी गरे । ‘फैसला सँधै अपेक्षित हुन्छन् भन्ने होइन र फैसलाले सँधै वाञ्छित परिणाम दिन्छन् भन्ने पनि होइन । हाम्रो चिन्ता नेपाली जनताको जुन चाहना हो, स्थिर सरकार, स्थायी नीतिहरु, संगतिपूर्ण नीतिहरु र मुलुकमा बलियो राजनीतिक स्थायित्व ।’ ज्ञवालीले भने, ‘यी कुराहरुलाई अदालतको फैसलाले बल पुर्याउँछ वा मुलुक राजनीतिक अस्थिरतातर्फ जान्छ भन्ने बारेमा हामीले पर्खिनु पर्नेछ ।’

उनले थप छलफलका लागि पार्टी केन्द्रीय कमिटीको बैठक र नेकपा संसदीय दलको बैठक पनि बोलाइने जानकारी दिए ।