लहान– हरेक दृष्टिकोणले अति पिछडिएको हरवा चरवा मुसहर समुदायका बालबालिकामा पछिल्लो समय शिक्षाप्रति आकर्षण बढ्न थालेको छ । केही वर्षअघिसम्म अत्यन्त न्यून सङ्ख्यामा मात्र मुसहर बालबालिका विद्यालय जाने गरेकामा पछिल्लो समय ती समुदायबाट विद्यालय जाने बालबालिकाको सङ्ख्या उत्साहजनक रूपमा बढ्दै गएको पाइएको हो।


ADVERTISEMENT


हरवाचरवा र मुसहर समुदायको उल्लेख्य बसोबास रहेको सप्तरीको शम्भुनाथ नगरपालिका २ कनकपट्टी, वडा नं ३ डङगराही र ५ स्थित मोहनपुरका मुसहर बालबालिका अचेल नियमित विद्यालय जान थालेका छन् । सो नगरपालिकाका हरवाचरवा परिवारका बालबालिकालाई लक्षित गरी श्रीर्पुराज सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको शैक्षिक अभियानअन्तर्गत निःशुल्क बाल कक्षा सञ्चालन गरेपछि विद्यालय जाने बालबालिकाको सङ्ख्या बढ्दै गएको हो ।


ADVERTISEMENT

# # #


विगत दुई वर्षदेखि ती वडाहरूबाट हरवाचरवा र मुसहर समुदायका विद्यालय जाने बालबालिकाको सङ्ख्या जम्मा १२ थियो तर सो संस्थाले द फ्रिडम फन्डको सहयोगमा ‘सामाजिक परिचालन तथा शिक्षाको माध्यमबाट हरवाचरवाको सशक्तिकरण कार्यक्रम’ अन्तर्गत जनचेतना अभियान, अभिभावक भेला तथा निःशुल्क बाल कक्षा सञ्चालनमा ल्याएपछि अहिले विद्यालय जाने विद्यार्थीको सङ्ख्या १ सय ४० भन्दा बढी पुगेको हरवाचरवा शम्भुनाथ नगर बाल क्लबका अर्जुन सदा बताउँछन् ।

पहिला पहिला हरवाचरवा मुसहर परिवारका बालबालिका पढाइभन्दा खेलकूदमै दिन बिताउने गरेका थिए तर गाउँमै निःशुल्क बाल कक्षा सञ्चालनमा आएपछि विस्तारै पढाइलेखाइप्रति आकर्षित हुन थालेका छन् । ‘केही वर्षअघिसम्म विद्यालयहरूमा हरवाचरवा मुसहर परिवारका बालबालिका न्यून सङ्ख्यामा मात्र भेट्थ्यो, अहिले विस्तारै विद्यालय जानेको सङ्ख्या बढ्न थालेको छ; सदाले बताए ।

केही वर्षअघि सम्म हरवाचरवा परिवारमा शिक्षाको महत्व थाहा नभएका कारण हरवाचरवा परिवारका बालबालिकाले विद्यालय जान रुची नगरेको बताउँदै मोहनपुरका अरहुलिया सदाले अभिभावकहरू पनि विद्यार्थीलाई विद्यालय पठाउन नचाहेको जानकारी दिए । ‘

‘हाल मुसहर परिवारको बालबालिका पनि विद्यालय जान थालेका छन् । अभिभावकहरूमा छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेतनाको विकास भएको छ’, कुनै बेला आफूलाई पढ्न रहर हुदाँहुदैँ पनि बाल्यकालमै अभिभावकले विवाह गरिदिएको सम्झिँदै अरहुलियाले थपे ‘अहिले त्यस्तो अवस्था विस्तारै हट्दै गएको छ ।’ हरवाचरवा मुसहर परिवारका अभिभावकहरू पनि जिम्मेवार बन्दै गएको उनको अनुभव छ ।

हरवाचरवा परिवारमा शिक्षाको अवस्था अत्यन्तै नाजुक देखिएपछि संस्थाले शम्भुनाथ नगरपालिका २, ३ र ५ मा सञ्चालन गरेको निःशुल्क बाल शिक्षा कार्यक्रममा अहिले हरवाचरवा र मुसहर समुदायका १४० जनाभन्दा बढी बालबालिका नियमितरूपमा अध्ययन गर्नका लागि आउने गरेको श्रीर्पुराज सामुदायिक केन्द्रका कार्यक्रम संयोजक शारदा चौधरीले बताइन् । तीमध्ये १०५ जना बालबालिकालाई विभिन्न विद्यालयको पहुँचमा पुर्‍याई सकेको उनको भनाइ छ । विद्यालयमा भर्ना भएका बालबालिकालाई संस्थाका तर्फबाट शैक्षिक सामग्री र स्कूल ब्यागसमेत निःशुल्क उपलब्ध गराएको छ ।

विद्यालयबाहिर रहेका बालबालिकाका लागि हाल तीनजना दक्ष शिक्षिका र एक दर्जन स्वयंसेवक परिचालित गरेर नौमहिने बाल शिक्षा प्रदान गरिरहेको र क्रमिकरूपमा विद्यालय भर्ना गराउँदै लगेको श्रीपुर्रा सामुदायिक विकास केन्द्रका अध्यक्ष सुखीलाल चौधरीको कथन छ ।

प्रारम्भिक बाल शिक्षाबाट राम्रो गर्दै गएका १०५ जना हरवाचरवा परिवारका बालबालिकालाई अहिलेसम्म स्थानीय विद्यालयमा भर्ना गराई सकिएको छ । बाँकी रहेकाहरूलाई पनि क्रमशः पायक पर्ने विद्यालयहरूमा भर्ना गराउने तयारी छ । ‘गरिबी र अभावबाट गुज्रिरहेका हरवाचरवा र मुसहर समुदायका अधिकांश बालबालिका विद्यालयको नाकमुख देख्न पाएका छैनन्; थप्दै उनी भन्छन्; ‘त्यस्तालाई आगामी शैक्षिक सत्रदेखि विद्यालयसँग जोड्न सक्दो पहल गरिरहेका छौँ ।’

शैक्षिक रूपमा जर्जर रहेको हरवाचरवा र मुसहर समुदायका बालबालिकाको विद्यालय आउने क्रम बढेको भन्दै यस्तो अभियानलाई अझ निरन्तरता दिनुपर्ने शम्भुनाथ नगरपालिका ३ स्थित बौकीदेवी दलित आधारभूत विद्यालयका प्रधानाध्यापक गोसाईं पासवानको भनाई छ । रासस