पर्वत– स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको झण्डै चार वर्ष पुग्न थालेको छ । जनप्रतिनिधिको कार्यवधि सकिँदै गर्दा विभिन्न स्थानीय तहका प्रमुखले भने आफ्नो कार्यकालमा भएका उपलब्धि सार्वजनिक गर्न थालेको छ ।


ADVERTISEMENT


पर्वतको महाशिला गाउँपालिकाले अहिलेसम्म गरेका कामको श्वेतपत्र जारी गर्ने भएको छ । जनप्रतिनिधि निर्वाचित भएपछि गरिएका काम र गर्नुपर्ने बाँकी काम समेटेर श्वेतपत्र जारी गर्न लागिएको हो ।


ADVERTISEMENT

# # #


जिल्लाकै फलेवास नगरपालिकाले झण्डै चार वर्षको अवधिमा प्राप्त गरेका उपलब्धिलाई सार्वजनिक गरेको छ । अहिलेसम्म नगरपालिकाले अगाडि सारेका र शुरुआत गरेका योजनामा ३३ वटा उपलब्धिलाई महत्वपूर्ण मानेको छ । फलेवासले शुरुआतमा सडक मापदण्ड निर्धारण र कार्यान्वयन, सेन्टर, भित्री र बाहिरी चक्रपथ निर्माण सम्पन्न गरेको छ भने मुख्य बस्तीको पाँच मिनेटको दूरीमा सडक सञ्जालीकरण विस्तार भएको जनाएको छ ।

त्यसैगरी बहुचर्चित कालीगण्डकी जलाशययुक्त परियोजनाको अवधारणा फलेवास आफैँले अघि सारेको दाबी गरेको छ । यो अहिले राष्ट्रिय योजनामा समावेश भई सम्भाव्यता अध्ययनको क्रममा छ । त्यसैगरी नगरपालिकाले नागरिकको जीवनस्तर उकास्नका लागि बिरुवा हाम्रो फल तपाईँको कार्यक्रम, टनेल हाम्रो उत्पादन तपाईँको कार्यक्रम, ज्येष्ठ नागरिकसँग नगरपालिका कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

त्यसैगरी अन्यत्र सिफारिस गर्नुपर्ने प्रसूति तथा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा, क्लिन फलेवास ग्रिन फलेवास अभियान, श्रमिक पेन्सन योजना तथा श्रमिक कल्याणकारी कोषसमेत प्रभावकारीरूपमा अघि बढाइएको नगरप्रमुख पदमपाणि शर्माले जानकारी दिनुभयो । फलेवासले पर्यटनको क्षेत्रमा पनि काम अघि बढाएको छ । डहरे–देउरालीमा ओपनजू र मनमोहन शान्तिवाटिका निर्माणमा जुटेको छ भने विभन्नि गाउँमा घरवास प्रवद्र्धन र पदमार्ग निर्माणका काम भइरहेका छन् ।

फलेवासमा नगर अस्पताल शुभारम्भ भइसकेको छ भने औद्योगिक क्षेत्र, रङ्गशाला, सिटीहल, प्रमुख प्रशासकीय भवन निर्माणका लागि निःशुल्क जग्गा प्राप्तिको काम पनि सकिएको नगरपालिकाको उपलब्धिका रूपमा राखिएको छ । त्यसैगरी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र पूर्वाधार निर्माण, एक वडा एक घरेलु औजार उद्योग स्थापनालाई पनि नगरले जोड दिएको छ । एक वडा एक महिला उद्योग, एक वडा एक कृषि फार्म, बृहत् कृषि फार्म, बहुवर्षे नर्सरी प्रवद्र्धन, एक वडा एक पशु फार्मजस्ता कार्यक्रमसमेत प्रभावकारी बनेको नगरप्रमुख शर्माले बताए ।

शिक्षाको क्षेत्रमा कक्षा ३ सम्म अङ्ग्रेजी माध्यम र प्रविधिमैत्री शिक्षा प्रवद्र्धन गरिएको तथा विद्यार्थीका लागि दिवा खाजा र विद्यालयका लागि बस सेवा कार्यक्रम तथा छात्रालाई स्यानिटरी प्याडको व्यवस्था तथा नमूना विद्यालय कार्यक्रम शुरु गरिएको नगरप्रमुख शर्माले जानकारी दिए । नगरभित्र विद्युतको समस्याका रूपमा रहेका काठेपोललाई फलाम तथा स्टिल पोलमा रुपान्तरण गरिसकिएको, एकीकृत बस्ती विकासको योजना अघि सारिएको उनको भनाई छ ।

वडा कार्यालयमा सहजरूपमा राजश्व सङ्कलनको व्यवस्था मिलाइएको र बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिन व्यवस्थासमेत गत आर्थिक वर्षबाट शुरुआत गरिएको छ । त्यसैगरी प्रतिफलमा आधारित अनुदान वितरण गर्न थालिएको छ । जसमा दूध, बाख्रा, स्थानीय जातका कुखुरापालनमा प्रोत्साहनस्वरुप कृषकलाई अनुदान दिन थालिएको छ । शून्य कालोपत्र भएको नगरपालिकामा सडक कालोपत्र, स्तरोन्नति, सडक पुल, झोलुङ्गे पुल निर्माणलाई समेत नगरले जोड दिएको छ भने संसदीय मोडलमा नगरसभा सञ्चालन र निर्णय कार्यान्वयन गर्दै आइरहेको नगरप्रमुख शर्माको उपलब्धिका रुपमा हेरिएको छ ।

फलेवास नगरपालिकालाई देशकै नमूना नगरपालिकाका रूपमा परिचित गराउन सफल भएको शर्माले बताए। जनप्रतिनिधि निर्वाचित भएपछि ४६ वटा ऐन कानून निर्माण र कार्यान्वयन गरिएको छ । त्यसैगरी वडा कार्यालय, स्वास्थ्यचौकी भवन, विद्यालय भवन तथा भौतिक संरचना दु्रतगतिमा निर्माण गरिएको छ । युवा रोजगार तथा खेल पूर्वाधार निर्माण भइरहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले अर्को उपलब्धिमा एक घर एक धारामार्फत खानेपानी योजना वितरणलाई तीव्रता दिएको र सिँचाइको क्षेत्रमा साना तथा मझौला सिँचाइमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्नमा जोड दिइएको नगरप्रमुख उनले बताए । जनप्रतिनिधि निर्वाचित भएपछि समग्रमा हालसम्मको अवधि उपलब्धिमूलक बनेको नगर उपप्रमुख मञ्जु अधिकारीले जानकारी दिइन् । रासस