सिमकोट– हिमाली जिल्ला हुम्लाबाट सुत्केरी व्यथा लागेर थला परेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । व्यथा लागेको चौध घण्टापछि आइतबार साँझ उद्वार गरिएको हो ।


ADVERTISEMENT


आठ महिनाको गर्भ भएकै बेला व्यथा लागेर थला परेपछि सर्केगार्ड गाउँपालिका ४ दूल्ली गाउँकी २१ वर्षीया विन्दु थापाको हेलिकपटरबाट प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


प्रजिअ गिरीका अनुसार, थापाको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग भएको र त्यसको खर्च राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट व्यहोरिनेछ ।

जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराका अनुसार, व्यथा लागेपछि सर्केगार्ड स्वास्थ्यचौकीमा लिइए पनि स्वास्थ्यकर्मीले जिल्ला अस्पताल बाहिर पठाउँदा बाटामा ल्याउँदै गर्दा झन् व्यथाले च्यापेपछि उनलाई हेलिकप्टरबाट उद्वार गरिएको हो । खार्पुनाथ १ देउखुरी हेलिप्याडबाट सुर्खेतमा उद्धार गरिएको उनले जानकारी दिइन् ।

सुत्केरी व्यथा लागेर बाटोमा ल्याइँदै गरेकी महिलालाई घरबाट ल्याइएको लामो समयपछि खार्पुनाथ गाउँपालिकाबाट उद्वार गरिएको प्रकाश बुढाले बताए ।

स्ट्रेचरमा जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटामा पेट पनि दुख्न थालेपछि जिल्लामा खबर गरेर हेलिकप्टरको व्यवस्था भएको उनको भनाई छ ।

आइतबार व्यथाले थलिएकी थापालाई अस्पताल भर्ना गरेर उपचार शुरु भएको छ । सुत्केरी व्यथा लागेर थला परेका गर्भवतीको उद्धारका लागि हवाई उद्धार प्रभावकारी बन्दै आएको छ । रासस