काठमाडौँ– आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत छैटौं चरण अन्तर्गत हङकङसंगको पहिलो खेलमा नेपाल ८३ रनले पराजित भएको छ ।


ADVERTISEMENT


हङकङस्थित मिसन रोड ग्राउण्डमा १९५ रनको विजयी लक्ष्य पाएको नेपालले ३५.५ ओभरमा अलआउट हुँदै १ सय ११ रनमात्र बनाउन सक्यो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले ५० ओभरमा अलआउट हुँदै १९४ रन बनायो । नेपाली बलरले कसिलो बलिङ्ग गरेपछि हङकङले उच्च स्कोर बनाउन सकेन । घरेलु टोलीका लागि जेमी एटकिनसनले अर्धशतकीय पारी खेलेका थिए । जेमीले एटकिनसनले ११७ बलमा ९ चौका र १ छक्कासहित ७६ रन बनाए ।


ADVERTISEMENT

# # #


यस्तै पछिल्लो क्रममा ब्याटिङ्ग गर्न आएका तानवीर अफजलले ४२ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३८ रन बनाए । इशान नवाज १६ रनमा अविजित रहे । यस्तै कप्तान बाबर हायतले २९, वाकस खानले १४ तथा निजाकट खानले १३ रन बनाए । हङकङका तीन ब्याट्सम्यानले खाता खोल्न सकेनन् । नेपालका सन्दिप लामिछानेले ३ तथा बसन्त रेग्मी र करण केसीले समान २ – २ विकेट लिए । सुशन भारीको नाममा एक विकेट रह्यो ।

यता नेपालका लागि ओपनरको रुपमा मैदान छिरेका उपकप्तान ज्ञानेन्द्र मल्लले २१, सागर पुनले ३ रन बनाए ।

त्यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान पारस खड्काले ४५ बलको सामना गरी २६ रन बनाए । दिपेन्द्र सिंह ऐरी ३ रनमा पेवेलियन फर्किए भने सोमपाल कामी ११ रनमा आउट भए । यस्तै शेख २२ रनमा आउट भए । वसन्त र करण केसी शुन्य रनमा आउट भए ।

यस्तै विनोद भण्डारी १८, सुशान्त भारी १ र सन्दीप लामिछाने शुन्य रनमा पेवेलियन फर्किए । यता हङकङका लागि इशान खानले सार्वाधिक ५ विकेट लिए भने ऐजाज खानले तिन विकेट हात पारे । तानविर अजफल र के क्रिस्टाईको नाममा समान ११ विकेट रह्यो ।

शीर्ष चारमा रहेर विश्वकप छनोटमा पुग्ने लक्ष्य कायमै राख्न जित्नै पर्ने आजको खेलमा पराजित भएपछि नेपालको सन् २०१९ मा हुने विश्वकप छनोटको यात्रामा पनि नराम्रोसँग धक्का लागेको छ ।

त्यसमात्र होइन यस पराजयले ए डिभिजनमा रहेको नेपाली क्रिकेट बी डिभिजनमा खस्किने खतरा पनि कायमै छ । विश्व च्याम्पियनसिपमा आइतबार नेपालले हङकङसँग दोस्रो खेल खेल्नेछ भने आगामी डिसेम्बरमा अन्तिम चरण अन्तर्गत युएईसँग खेल्नेछ । ती सबै खेलमा जित हासिल गरेपनि नेपालले शीर्ष चारमा रहन अन्य खेलको नतिजामा भर पर्नुपर्ने हुन्छ ।