पाल्पा – नेपाल पर्यटन वोर्डले पाल्पाको रानीमहललाई हेरिटेज होटल बनाएर पर्यटन व्यवसाय विस्तार गर्ने प्रस्ताव अघि सारेको छ ।


ADVERTISEMENT


पाल्पाको तानसेनमा पर्ने उक्त महल संरक्षणका अभावले जीर्ण बन्दै गएको र नदीले पनि कटान गर्दै गएको कारण उक्त ठाउँमा होटल निर्माण गरि संरक्षण गर्न सकिने प्रस्ताव वोर्डले अघि सारेको छ । यसका लागि रानीमहलको स्वरुप नबिगारी पुरानै संरचनामा पुनःनिर्माण गर्ने वोर्डले बताएको छ ।


ADVERTISEMENT

# # #


पर्यटन क्षेत्रलाई विविधीकरण गर्नका लागि उक्त महलमा होटल निर्माण गर्न सकिने वोर्डका कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले बताए । ‘रानीमहल प्रेमसँग जोडिएको गन्तव्य हो, यसलाई होटल बनाएर हनिमुन गन्तव्य बनाउन सकिन्छ,’ उनले भने ।

हेरिटेज होटल निर्माण गरी भारत लगायतका देशमा प्रचार गरेर पर्यटक भित्र्याउन सकिने उनले बताए ।

यद्यपि, ऐतिहासिक संरचनामा होटल निर्माण गर्नु गलत भएको भन्दै यसको विरोध गरिएको छ । होटल संघ नेपाल (हान)ले समेत ऐतिहासिक संरचना बिगार्नु गलत भएको भन्दै वोर्डको उक्त प्रस्तावप्रति असहमति जनाएको छ ।