काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस सकिएको छ । शुक्रबार वरिष्ठ अभिवक्ता गीता पाठकले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अदालतलाई सहयोग गर्न गठित अदालतको सहयोगी(एमिकस क्युरी)का तर्फबाट पाँचौँ तथा अन्तिम राय प्रस्तुत गरेसँगै मुद्दाको बहस सकिएको हो ।


ADVERTISEMENT


१० गतेसम्म बहस नोट बुझाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले जानकारी दिएका छन् । १० गते नोट आएपछि ११ गते संवैधानिक इजलासको बैठक बस्नेछ ।


ADVERTISEMENT

# # #


यसअघि मुद्दाको पक्षमा र विपक्षमा बहस भएको थियो । त्यसपछि पाँच जना एमिकस क्युरीमध्ये वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल, विजयकान्त मैनालीले आफ्नो राय प्रस्तुत गरिसकेका छन् ।

जसमध्ये कार्की र खरेलले प्रधानमन्त्रीले पार्टीको कारण देखाएर संसद विघटन गर्नुलाई असंवैधानिक भनेका छन् भने मैनालीले प्रधानमन्त्रीलाई संविधानले विशेष अधिकार दिएकाले संसद विघटन गर्न पाउने तर्क राखेका थिए ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्माओलीको सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै नयाँ निर्वाचनको मिति घोषणा गरेकी थिइन् । संसद विघटनविरुद्ध नेकपाका प्रचण्डसमूहका नेता र अधिवक्ताहरु गरी १३ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए ।

दायर भएका १३ रिट निवेदकका पक्षबाट जवाफी बहस सकिएको मङ्गलबार सकिएको थियो । सरकारी पक्ष, सभामुख र प्रधानमन्त्री केपी शर्मा ओलीका निजी कानून व्यवसायीले बहस गरिसक्नुभएको छ । एमिकस क्युरीको बहस सकिएपछि निर्णय आउने छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।