म्याग्दी– अन्नपूर्ण गाउँपालिका ५ पाउद्वारमा बुधबारदेखि प्रथम चौँरी महोत्सव शुरु भएको छ । राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रवर्धन कार्यालयको सहयोगमा चौँरी स्रोत संरक्षण तथा प्रर्वधन समिति पाउद्वारले आयोजना गरेको महोत्सव छ दिनसम्म सञ्चालन हुन लागिएको हो ।


ADVERTISEMENT


चौँरी संरक्षण, चौँरीका उत्पादनको बजारीकरण, चौँरीको महत्व र स्थानीय पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको समितिका अध्यक्ष मीनबहादुर गर्बुजाले बताए । पाउद्वार गाउँकै नजिकै लरेनीमा झारिएका चौँरी देखाएर पर्यटक भित्र्याउने उद्देश्यले महोत्सव आयोजना गरेको बताउँदै उनले भने; ‘कोरोनाका कारण थलिएको पर्यटन र ग्रामीण अर्थतन्त्रलाई पनि यसले सहयोग गर्ने अपेक्षा राखेका छौँ ।’


ADVERTISEMENT

# # #


महोत्सवमा कृषक र विज्ञहरुबीच चौँरीको महत्व, समस्या, व्यावसायिक सम्भावना र कृषकको आवश्यकताका विषयमा छलफल आयोजना गरिएको छ । यसैगरी चौँरीको आलो रगत पिउने मेलासमेत सञ्चालन हुनेछ ।

महोत्सवमा आउने पाहुनालाई चौँरी देखाउने र यसको महत्वका विषयमा बुझाइने कार्यवाहक वडाअध्यक्ष राजेश तिलिजाले बताए । ‘म्याग्दी जिल्लामा हाम्रो वडामा मात्र चौँरीपालन हुन्छ; उनी भन्छन्; ‘परम्परागत चौँरीपालनलाई पर्यटन र गाउँलेको आयआर्जन सुधारसँग जोड्ने प्रयास गरिएको हो ।’

दश हजारभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको महोत्सवको उद्घाटनका अवसरमा चौँरी गोठाला सुकबहादुर पुनलाई सम्मान गरिएको थियो । स्थानीय मगर संस्कृतिमा आधारित पुख्यौली, सोरठी, कौरा, मादले, मारुनी गीत र नृत्य महोत्सवको आकर्षण हुन् ।

पाउद्वार र शिखका तीन वटा फार्मले ४०० भन्दा बढी चौँरी पालेका छन् । सामाजिक अभियानकर्मी डा. महावीर पुनको अगुवाइमा पाउद्वार मावि र हिमाञ्चल माविका निजी स्रोतका शिक्षकको तलबभत्ता जुटाउन विसं २०५८ देखि खोपारा क्षेत्रमा व्यावसायिक चौँरीपालन गरिएको स्थानीयवासी भीम तिलिजाले बताए ।

त्यस्तै, खोपारा, खयर, बयली, डाडखर्कलगायत बराह शिखर हिमालको फेदीका बुकीमा चौँरीपालन गरिएको छ । प्राकृतिक हिसाबले सुन्दर त्यस क्षेत्रमा पालिएका चौँरी र भेडीगोठले पर्यटकलाई आकर्षित गराएको गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले बताइन् ।

यसैगरि, राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रर्वधन कार्यालयका वरिष्ठ पशु विकास अधिकृत खगेन्द्रराज भट्टले अनुकूल हावापानी र भूगोल भएको अन्नपूर्ण गाउँपालिकालाई चौँरी स्रोत केन्द्रका रूपमा विकास गर्न लागिएको जानकारी दिएका छन् ।

उनका अनुसार, त्यहाँ चौँरीको नश्ल, गोठ सुधार, व्यावसायिक उत्पादन, उत्पादनको विविधीकरण र बजारीकरणमा सघाउने कार्यक्रम बनाइएको छ । ‘यहाँ पालिएका चौँरीलाई देशका अन्य ठाउँमा पनि नश्ल सुधारका लागि लैजान सकिन्छ; उनले भने । यस वर्ष स्रोत केन्द्र सञ्चालनका लागि रु. नौ लाख ३५ हजार विनियोजन भएको छ ।

तीन वटा याक खरिद गरेर समितिलाई उपलब्ध गराइसकिएको छ । आन्तरिक र बाह्य परजीवी विरुद्धको खोप, गोठ सुधार, खानेपानी, खर्क सुधार र गोठालाका लागि आवश्यक सामग्री सहयोग गरिने पशु विकास अधिकृत बासुदेव नाथले बताए ।

चितुवाको आक्रमण, चरन क्षेत्रको अभाव र रोगको महामारी चौँरीपालनका लागि चुनौती भएको कृषक प्रेम पुर्जाले बताउँछन् । रासस