दूर्व्यवहार यस्तो चिज हो जसले व्यक्तिमा आत्मग्लानी पैदा गर्छ । एकछिन रमाइलो, रमझम, सन्तुष्टि वा अरुलाई पिडा दिई आफु क्षणिक आनन्द लिन गरिने गतिविधि नै दूर्व्यवहार हो । यस्ता गतिविधिले दूर्व्यवहारमा परेका व्यक्ति/पिडितलाई उसको जीवनकाल भर सताउन एवम् झस्काउन सक्छ ।


ADVERTISEMENT


दूर्व्यवहारको प्रकृति वा स्वरुप चाहे फरक नै किन नहोस्, यद्यपि यसले व्यक्तिमा कुनै न कुनै रुपमा शारीरिक–मानसिक आघात भने अवश्य पुर्‍याएको हुन्छ । यस्तै, तिनै विभिन्न प्रकृतिका दूर्व्यवहारमध्ये अधिकांश  देखिएको दूर्व्यवहारको केशमध्ये यौन क्षेत्र पनि एक हो ।


ADVERTISEMENT

# # #


यौन दूर्व्यवहार भन्नाले आफ्नो इच्छा र अनुमतिबिना आफ्नो शरीरमा अरुले स्पर्श गर्छ वा सो भागको उपभोग गर्ने प्रकृयालाई बुझाउँछ । यो कुनै व्यक्तिको इच्छा विरुद्ध सो व्यक्तिलाई अपमानित एवम् नियन्त्रण गर्ने हिसाबले गरिन्छ ।

यौनदूर्व्यवहारका यस्ता अधिकांश केशहरु व्यक्तिगत डरभन्दा पनि बढि सामाजिक मूल्य मान्यता र पारिवारिक मान प्रतिष्ठाप्रति उठ्ने सम्भावित प्रश्नको काल्पनिक भयका कारण दोषी विरुद्धको ठोस सजायबिना नै दुःखद अन्त्य भएको वा लुकाइएको देखिन्छ । अझ दुःखद पक्ष के छ भने बालबालिकामा भएको यस्तो अधिकांश केशहरु आफ्नै परिवारबाट नै गोप्य राख्ने गरेको देखिन्छ ।

यद्यपि यसरी लुकाइएको केशले तत्कालिन घटनामाथि पर्दा लगाउन सकिएता पनि पिडितको आघातमाथि भने पानी पनि छर्किन सक्दैन । जसको असर पिडितमा पछि कालान्तारसम्म पर्न जान्छ । यसरी यौन दूर्व्यवहारमा परेका व्यक्ति तथा बालबालिकामा देखिने लक्षण तथा असरहरु निम्न रहेका छन्ः

-डर पैदा हुने र बेला बेला झस्किने
-आत्मग्लानी र लज्जा बोध हुने
-आफैँलाई दोषि ठान्ने मानसिकताको विकास हुने
-अरुप्रतिको भरोसा र विश्वास उड्ने
-मानसिक तनाव वा चिन्ता बढ्ने
-आत्मविश्वासको कमी हुने
-लागुऔषधको सेवन गर्ने
-एक्लै बस्न रुचाउने
-खानपिन शैलिमा बद्लाव आउनु
-आत्महत्या तथा आफूलाई हानी पुग्ने गतिविधि अंगाल्न खोज्नु आदि ।

यसका साथै केहि अध्ययनले के पनि देखाएको छ भने, आफ्नो बाल्यावस्थामा विशेषगरी यौन दूर्व्यवहारमा परेका व्यक्तिहरु आफ्नो जीवनकालमा दिर्घरोग तथा आपत्कालीन स्वास्थ्य समस्याबाट गुज्रिने सम्भावना अत्याधिक रहन्छ । उनीहरुमा विशेषगरीः मधुमेह, ग्याष्ट्रिक, आर्थराईटिस, टाउको दुख्ने, यौनसम्बन्धिका समस्या, स्ट्रोक, हेपाटाईटिस तथा मुटुसम्बनिधका समस्याले सताउने सम्भावना उच्च रहन्छ ।

घटनाको गतिविधि तथा स्वरुप अनुसार, यस्ता असर तथा लक्षण व्यक्तिमा दिर्घकालीन समयसम्म हावी हुन सक्ने सम्भावना रहन्छ । त्यस्तै, यौन दूर्व्यहारको परिणाम स्वरुप व्यक्तिलाई शारीरिकदेखि मानसिक समस्यासम्म देखापर्छ । यसका साथै यसले व्यक्तिको वैवाहिक जीवनमा समेत असर पुर्‍याउँछ । तसर्थ यस्ता व्यक्तिलाई विशेषगरि मनो–परामर्शविद्को आवश्यकता पर्छ ।

यस्ता समस्या निराकरणका लागि हामी के गर्न सक्छौ?

यस्ता समस्या निराकरणको लागि अत्यावश्यक पहिलो प्रयास भनेकै यौनको विषयमा उचित शिक्षा प्रदान गर्नु हो । हामीले प्रत्येक बालबालिकादेखि नागरिकलाइृ यौनशिक्षा प्रदान गर्नु आवश्यक छ । यसका साथै यौन दूर्व्यवहारभनेको के हो? सहि र गलत छुवाई कसरी छुट्याउने? र आफू त्यस्ता गतिविधिमा परिए के गर्ने? र कसरी त्यसबाट बच्ने? भन्ने विषयमा उचित जनचेतना अभिवृद्वि गर्नुपर्छ ।

यसका साथै प्रत्येक आमाबाबुले आफ्नो छोराछोरीमाथि निगरानी राख्न आवश्यक रहन्छ । यस्तै, आफ्नो छोराछोरीको व्यवहारमा आएको परिवर्तनलाई पहिचान गरी उनीहरु सामु सरल रुपमा प्रस्तुत भई त्यसको कारण बुझ्ने कोशिस गर्नुपर्छ ।

यदि कुनै पनि व्यक्ति यौन दूर्व्यवहारमा परेका छन्, भने सर्वप्रथम त, त्यस्ता व्यक्तिलाई एक विश्वसनीय र भरोसापूर्ण व्यक्तिको आवश्यक पर्छ । जसलाई आफ्ना समस्याबारे खुलेर बताउन सकियोस् । तसर्थ सर्वप्रथम उनीहरुको भावनाको कदर गरी साथीको रुपमा प्रस्तुत भई उनीहरुलाई सुन्ने प्रयास गर्नुपर्छ । यसका साथै, अधिकांश दूव्र्यवहारमा परेका व्यक्तिहरु आफैलाई दोषि ठान्ने भएकाले उनीहरुलाई सम्झाई बुझाई हौसला प्रदान गर्दै दोषिलाई कारवाहिको लागि सक्दो सहयोग गर्नुपर्छ । एजेन्सी ।