कर्णाली– पहिलो चरणमा कोरोना खोप लगाउन छुटेका समूहलाई यहाँ आज लगाउन पुनः खोप वितरण थालिएको छ । स्वास्थ्य सेवा निर्देशनालयले विविध कारणवश् पहिलो चरणमा छुटेका लक्षित व्यक्तिलाई प्रदेशका १२ वटै केन्द्रबाट खोप लगाउने व्यवस्था मिलाइएको हो ।


ADVERTISEMENT


कर्णालीमा पहिलो चरणमा पहिचान गरिएका दुई हजार ३ सय ६० जनाले विभिन्न कारणले खोप लगाएका थिएनन् । प्रदेश स्वास्थ्य निर्देशक डा. रबिन खड्काले छुटेकालाई दोस्रो चरणको अभियानअन्तर्गत पहिलो दिन अर्थात्, आज खोप लगाउने व्यवस्था मिलाइएको जानकारी दिएका छन् । उनका अनुसार ,दोस्रो चरणका लागि २० हजार जनालाई पुग्ने खोप माग गरिएको छ ।


ADVERTISEMENT

# # #


पहिलो चरणमा मौज्दात रहेको खोप नै लगाउन लागिएको बताउँदै डा. खड्काले खोप केन्द्रबाट आइ नसकेको बताएका छन् । ‘दुई मात्रामा लगाउनुपर्ने हुँदा मौज्दात छ, तत्काल मौज्दात रहेकै खोप लगाउँछौँ; उनले भने । दोस्रो चरणमा खोप केन्द्र पनि बढ्ने बताइएको छ । जनशक्तिको व्यवस्थापन गरेर स्थानीय तहसम्म पुगेर खोप अभियान सञ्चालन गरिने उनको भनाइ छ ।

कर्णालीमा पहिलो चरणमा नौ हजार ४२० जना अर्थात्, ८२ प्रतिशतले मात्र यो खोप लगाएका थिए । पहिलो चरणमा कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मी, अस्पतालका कर्मचारी तथा सरसफाइकर्मी, एम्बुलेन्स चालक, सङ्क्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई खोप लगाउने व्यवस्था मिलाएको थियो ।

यसैबीच सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आजदेखि पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु गर्दैछ । दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई प्रदेश अस्पताल कालागाउँबाट निःशुल्क कोरोना खोप लगाइने व्यवस्था मिलाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्रदेव गिरीले बताए । नगरपालिकाले पहिलो चरणमा छुटेका, स्थानीय तहका जनप्रतिनिधि, नगरका निजामती कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारी, न्याय समूहका कर्मचारी (अदालत, वकिल) र पत्रकारलाई यही फागुन ८ गतेसम्म खोप लगाउन मिति निर्धारण गरेको छ ।

यो खोपको पहिलो मात्रा लगाएको २८ दिनपछि पुनः दोस्रो मात्रा लगाउनुपर्दछ । माघ १४ गतेबाट पहिलो चरणको खोप लगाउन थालिएको थियो । ‘कोभिशिल्ड’ नामक यो खोप भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको हो । विश्व स्वास्थ्य सङ्गठनबाट आपत्कालीन प्रयोगका लागि स्वीकृति पाएसँगै खोप लगाउन थालिएको हो । रासस