कञ्चनपुर– किसानलाई आधुनिक प्रविधिको प्रयोग गरी उखुखेती गर्ने तौरतरिका सिकाउन थालिएको छ । भारतीय उखु विज्ञद्वारा आधुनिक तरिका सिकाइएको हो ।


ADVERTISEMENT


उखु उत्पादक किसान हकहित संरक्षण समिति, महाकाली सुगर इन्डष्ट्रिज प्राइभेट लिमिटेड र नेपाल रेडक्रस सोसाइटीले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजनाको संयुक्त साझेदारीमा उन्नत उखु खेतीबारे किसानलाई जानकारी दिन शुरु भएको छ ।


ADVERTISEMENT

# # #


भारतको उत्तर प्रदेशको शाहजहाँपुरस्थित उखु अनुसन्धान केन्द्रका डा. बिआरएस चौहान, डा. एसके शुक्लालगायतको टोलीले किसानलाई उखु रोप्नेदेखि काटनेसम्मको तरिका सिकाउने कार्य गरिरहेको महाकाली सुगर इन्डष्ट्रिजका व्यवस्थापक सिडी पाण्डेयले जानकारी दिए ।

भारतीय विज्ञको घुम्ती टोली परिचालन गरी किसानलाई उखुको उत्पादन बढाउनका लागि जानकारी दिने कार्य गरिरहेको बताउँदै उनले भने; ‘खेत तयार गर्ने, उखुको बीउ तयार गर्ने, रोप्ने, मलखाद, सिँचाइलगायतको व्यवस्था गर्नेलगायतका कार्य विज्ञले सिकाउने गरी रहेका छन् ।’

त्यससँगै रोग किरा पहिचान गर्ने र निदान गर्ने तरिकासमेत सिकाउने कार्य भइरहेको उनले बताएका छन् । हावाहुरीबाट उखुलाई बचाउनका लागि बोटलाई कसरी बाध्ने र काट्दा ध्यान पुर्‍याउनुपर्ने कुरासमेत विज्ञहरुले किसानलाई जानकारी दिँदै आएका छन् ।

उखुखेतीमा भारतमा प्रयोग भइरहेको प्रविधिको प्रयोग र उखुका बढी उत्पादन दिने जात पहिचान गरी उखुको उत्पादनमा बढोत्तरी गर्नका घुम्ती तालीम उपयोगी हुने एमरेड परियोजनाका कञ्चनपुरका प्रमुख महेश घिमिरेले बताए ।

उनका अनुसार, हालसम्म बेलडाँडी, बेलौरी र लालझाडीका किसानलाई भारतीय विज्ञको टोलीले एकदिने उन्नत उखुखेतीबारे तालीम दिएका छन् । उखुखेती हुने अन्य ठाउँका किसानलाई समेत तालीम दिइने उनले बताए । जिल्लामा रहेका दुई वटा सुगर इन्डष्ट्रिजलाई उखुको अभाव रहेको छ । उखुको अभावमा इन्डष्ट्रिज पूर्ण क्षमताका साथ चल्न सकेका छैनन् ।

किसानलाई उन्नत जातका उखुखेती गरी उत्पादन बढाउनका लागि पाँच वटा ‘टि’ बारेमा समेत जानकारी दिने कार्य भइरहेको छ । पाँच ‘टि’ मा समयमा उखु रोप्ने, ट्राइकोड्रमा विषादीको प्रयोग गर्ने, ट्रेञ्च प्रविधिमा उखु रोप्ने, उखुको बीउ उपचार गर्ने, उखुको टुप्पोतिरको भागलाई बीउका रुपमा प्रयोग गर्ने रहेका छन । पाँच ‘टि’लाई ध्यान दिए मात्रै उखुको उत्पादन बढाउन सकिने उखु विज्ञको भनाइ रहेको छ ।

उखु उत्पादक किसान हकहित संरक्षण समितिका सचिव चेतन राई पुरानो प्रविधिले उखुको उत्पादनलाई बढाउन नसकिने भएकाले नयाँ प्रविधिको प्रयोग उखुखेतीमा गर्नुपर्ने बताउँछन्। उनी भन्छन्; ‘नयाँ प्रविधिबारे जानकारी लिनकै लागि विज्ञको टोलीलाई बोलाएका छौँ”, उहाँले भन्नुभयो, “पुरानो प्रविधिबाट नयाँ प्रविधिमा उखु किसान रुपान्तरण हुँदै आए पनि अझै नयाँ प्रविधिको प्रयोग र उखुको उत्पादनलाई कसरी बढाउन सकिन्छ भन्नेबारे चिन्तन मनन् गर्नका लागि भारतीय विज्ञ टोलीलाई पहिलो पटक डाँकेका हौँ ।’

जिल्लामा उखुको उत्पादन ४० लाख क्विन्टल हुँदै आएको छ । सञ्चालन हुँदै आएका सुगर इन्डष्ट्रिजलाई ६० लाख क्विन्टल उखु आवश्यक छ । उखुको उत्पादन बढाउने कार्यसँगै क्षेत्रफल विस्तार गरिए मात्रै सुगर इन्डष्ट्रिजलाई आवश्यक उखु आपूर्ति गर्न सकिने सचिव राईको भनाइ रहेको छ । रासस