चितवन– प्रदेश सरकारले आगामी फागुन १ गतेदेखि क्यान्सरका बिरामीलाई रु ५० हजार उपचारका लागि सहयोग गर्ने भएको छ । यसअघि क्यान्सरका बिरामीलाई सङ्घीय सरकारले रु एक लाख उपचार सहयोग गर्दै आएकोमा प्रदेश सरकारले थप रु. ५० हजार सहयोग गर्ने भएको हो ।


ADVERTISEMENT


बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार, फागनु १ गतेदेखि लागू हुनेगरी छुट सुविधा दिन वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयसँग सम्झौता भएको छ । उनका अनुसार क्यान्सर उपचारमा लाग्ने खर्चमा सरकारले दिँदै आएको रु. एक लाखमा प्रदेश सरकारले थप रु. ५० हजार उपलब्ध गराउने भएको हो । सङ्घीय सरकारको रकम सकिएपछि प्रदेश सरकारको रकम खर्च गरिनेछ । प्रदेशभित्रका स्थायी बासिन्दालाई मात्र यो सुविधा उपलब्ध हुने उनले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनका अनुसार, प्रदेशले यो सुविधाका लागि चालू आर्थिक वर्षमा रु. सात करोड विनियोजन गरेको छ । यस अस्पतालमा उपचार गराउन आउने क्यान्सरका बिरामीमध्ये ४० प्रतिशत हाराहारी वाग्मती प्रदेशका जनता हुने गरेका छन् । थप सहयोग पाएसँगै बिरामी र तिनका परिवारलाई राहत पुग्ने उनको भनाइ छ ।

क्यान्सर रोगको उपचार निकै खर्चिलो हुन्छ । निजीमा उपचार गर्न खर्चका कारण जो कोहीलाई कठिन हुने गर्दछ । सरकारीमा समेत उपचारका लागि आवश्यकपर्ने उपकरण, औषधिलगायत महङ्गो पर्ने भएकाले उपचार खर्चिलो हुने गर्दछ । रासस