काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले राष्ट्रपति विरुद्ध अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी नेकपा नेतृ रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ ।


ADVERTISEMENT


एक विज्ञप्ती जारी गर्दै प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न माग गरेका हुन् । पार्टीकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य झाँक्रीलाई गरिएको गिरफ्तारीबाट नेकपा आश्चर्यचकित भएको बताएका छन् ।


ADVERTISEMENT

# # #


उनले संविधानले प्रत्याभूत गरेको अभिव्यक्तिको स्वतन्त्रताविरुद्ध गरिएको पक्राउले सरकारको अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादलाई उदांगो पारेको बताएका छन् ।

नेतृ झाँक्रीलाई प्रहरीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको आरोपमा बिहीबार उनकै निवासबाट राज्यविरुद्धको कसुर मुद्दामा पक्राउ गरेको थियो । तर, नेकपाले राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु दृष्टिभ्रम रहेको बताएको छ ।

प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचना भन्दा माथि हुन सक्दैन भन्ने तथ्य स्पष्ट हुँदाहुँदै पनि राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वग्राहिता र स्वेच्छाचारिताबाहेक केही होइन ।’