काठमाडौँ – विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेकी छन् ।


ADVERTISEMENT


उनलाई बिहीबार महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा उनको निवासबाटै पक्राउ गरेको छ । उनलाई राज्यविरुद्धको कसुर मुद्दामा मुलुकी अपराध संहिताको दफा ५८ अनुसार पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


पक्राउ पर्नुअघि निवासमै जम्मा भएका आफ्नो शुभचिन्तक तथा नेकपा प्रचण्ड–माधव समूहका नेता कार्यकर्तालाई सम्बोधन गर्दै एक इमान्दार नागरिककमा हैसियतले आफूले गिरफ्तारी दिएको बताइन् ।

उनले भनिन्, ‘म एउटा इमान्दार नागरिक, कानुनको परिपालना गर्ने नागरिकको हैसियतले पनि राज्यले म विरुद्ध जारी गरेको पक्राउ पूर्जी अन्तर्गतको आदेश अनुसार मैँले मेरो आफ्नै निवासबाट गिरफ्तारी दिँदैछु ।’

पक्राउ पर्नुअघि के भनेकी थिइन् झाँक्रीले ?

हामीले कहिल्यै नखोसिने लोकतन्त्रका लागि लडेका थियौँ । सात दशक लामो क्रान्तिको इतिहासमा हामीले धेरै कुरा प्राप्त गर्‍यौँ भन्ने लागेको थियो । तीन वर्ष अघि भएको चुनावमा कम्युनिस्ट पार्टीले स्पष्ट बहुमत पनि ल्याएको थियो । आज दिन यस्तो आयो कि जुन पार्टीमा म आवद्ध थिएँ, त्यही पार्टीले बनाएको, मैँले बनाएको सरकारले आज मलाई पक्राउ गर्दैछ । 

जनताको प्रतिनिधिमुलक थलो संसद आज विघटन भएर प्रतिगमन भएको छ । प्रतिगमनको विरुद्ध, लोकतन्त्रको पक्षमा संसदको पुनर्स्थापनाका लागि सडकमा संघर्षरत रहँदैगर्दा देशभरि मैँले न्याप्रेमी जनसमुदायलाई संगठित गर्ने अभियानमा अभिव्यक्त गरेका केही विचारहरुको आधारमा आज केपी शर्माओलीले नेतृत्व गरेको सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने प्रयास स्वरुप मुलुकी अपराध संहिताको दफा ५८ अनुसार अधिकार प्रयोग गरेर ममाथि राज्यविरुद्धको कसुरको पक्राउ पूर्जी जारी गरेको छ ।

म एउटा इमान्दार नागरिक, कानुनको परिपालना गर्ने नागरिकको हैसियतले पनि राज्यले म विरुद्ध जारी गरेको पक्राउ पूर्जी अन्तर्गतको आदेश अनुसार मैँले मेरो आफ्नै निवासबाट गिरफ्तारी दिँदैछु ।

साथ र सहयोगका लागि सबै मिडियाकर्मी मित्रहरु, न्यायप्रेमी विद्यार्थी साथीहरु, पार्टीका नेताहरुसहितका तमाम युवा तथा विद्यार्थी साथीहरुलाई साथ र ऐक्यवद्धताका लागि न्यायो अभिवादन अभिव्यक्त गर्दै राज्यको आदेश तामिल गर्ने सन्दर्भमा मेरो निवास वरिपरि खटिनुभएका सुरक्षाकर्मी मित्रहरुलाई पनि धेरै धन्यवाद दिन चाहन्छु ।

भीडभाडमा तपाईंहरुलाई कुनै अमर्यादित व्यवहार हुन गएकोको भए म क्षमा याचना गर्दछु । 

सम्बन्धित समाचार
– रामकुमारी झाँक्री निवासबाटै पक्राउ, राज्यविरुद्धको कसुरको मुद्दा
– रामकुमारी झाँक्री पक्राउपछि गगन थापाले भने : सरकार, झ्यालखानाको संख्या थप !
– झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर : नेकपा प्रचण्ड-माधव समूह