महोत्तरी– गौशाला नगरपालिका १२ मा प्राविधिक शिक्षालय भवनका लागि १० कठ्ठा जग्गा निःशुल्क प्राप्त भएको छ । गौशाला–१२ कै बासिन्दा पुराना वामपन्थी नेता महेन्द्र लामाले शिक्षालय भवनका लागि रु एक करोडभन्दा बढी मूल्य पर्ने १० कठ्ठा जग्गा दान गरेका हुन् ।


ADVERTISEMENT


भवन निर्माणको शिलान्याससमेत गरिएको सो जग्गा मालपोत कार्यालय महोत्तरीबाट प्राविधिक शिक्षालय गौशालाका नाममा दर्ता पनि भइसकेको छ ।


ADVERTISEMENT

# # #


प्राविधिक शिक्षालय भवन निर्माणका लागि जग्गा प्राप्त भएर थप सहयोग पाइन थालेपछि भवन निर्माणको कामले गति लिएको छ । आफ्नै नगरपालिकाको स्रोत, प्रदेश र सङ्घीय सरकारबाट प्राप्त हुने सहयोग र शिक्षाप्रेमीबाट थप सहयोगको प्रतिबद्धताले शिक्षालय भवन चाँडै तयार हुने विश्वास जागेको नगरप्रमुख शिवनाथ महतोको भनाइ छ ।

यसैबीच गौशाला १२ कान्तिबजारस्थित राष्ट्रिय माध्यमिक विद्यालयले आयुर्वेद विज्ञान विषयको डिप्लोमा तहको पठनपाठन शुरु गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटइभिटी) को आवद्धता र स्वीकृतिमा सञ्चालन गरिएको आयुर्वेद विज्ञान विषयको पठनपाठनबारे सामाजिक चासो निकै बढेको वडाका अध्यक्ष कृष्णबहादुर विश्वकर्मा बताउँछन् ।

परिषद्सँगको समन्वयबाट गौशाला नगरपालिकाले आयुर्वेद विषयको पठनपाठन सञ्चालनमा ल्याएको हो । आयुर्वेद विज्ञान विषयको पठनपाठन सञ्चालन गर्ने राष्ट्रिय मावि कान्तिबजार प्रदेश नं २ कै पहिलो विद्यालय बनेको छ ।

आयुर्वेद विज्ञानलाई आधुनिक विज्ञानसँग जोडेर यो प्राचीन विषयबारे आम चासो बढाउँदै मानिसको जीवन पद्धतिसँग जोड्न आफ्नो ठाउँमा आयुुर्वेद विषयको पठनपाठन शुरु गरिएको नगरप्रमुख महतोको भनाई छ ।

पछिल्लो कालमा पश्चिमा विज्ञानतर्फ आकर्षण बढेकै कारण समाजबाट योग, ध्यान लोप हुँदै गएको हुँदा तीनै तहका सरकारको प्रयत्नमा प्राचीन यो विषयलाई जीवन्त बनाउन आवश्यकता रहेको उनले बताए । स्वास्थ्य क्षेत्रमा मध्यमस्तरीय जनशक्ति उत्पादन गर्नका लागि आयुर्वेद शिक्षाको भूमिका हुनेप्रति उनी विश्वस्त देखिन्थे ।

गौशाला नगर क्षेत्रमा आयुर्वेद अस्पताल स्थापनाको कामले पनि गति लिएको छ । महतोका अनुसार, यस प्रयोजनका लागि प्रदेश नं २ सरकारको सामाजिक विकास मन्त्रालयबाट आयुर्वेद अस्पताल निर्माणका लागि रु ३० लाख बराबरको सहयोग प्राप्त भएको छ । रासस