दोलखा– भीमेश्वर नगरपालिकालाई आर्थिक रुपमा समुन्नत बनाउन चम्पुजा र मञ्जुश्री पार्क कोशेढुङ्गा सावित भएको छ । वडा नं २ मा पर्ने यी दुई पार्कमा दैनिकरुपमा दुई/तीन सय आन्तरिक तथा बाह्य पर्यटक यहाँको मनमोहक दृश्य हेर्न आउन थालेसंगै यहाँको आर्थिक अवस्थामा टेवा पुगेको हो ।


ADVERTISEMENT


पार्कबाट पवित्र धार्मिकस्थल भीमेश्वर, कालिञ्चोक, तामाकोशी, हनुमन्ते, शैलुङ र गौरीशङ्कर नजिकबाट नियाल्न सकिन्छ । यहाँको विकासका लागि भीमेश्वर मन्दिर नजिक सोलार पार्कसमेत बनाउन छिट्टै शुरु गरिने नगर प्रमुख भरतबहादुर केसीले बताए ।


ADVERTISEMENT

# # #


विसं २०७१ मा नगरपालिकाले आफ्नो बजेटबाट पार्क बनाउन शुरु गरेको थियो । पछि पर्यटन मन्त्रालय, शहरी विकास मन्त्रालय र स्थानीय नागरिकको जनश्रमदानमा गरी रु. एक/एक करोडको लगानीमा निर्माण गरिएको छ । पार्कले हालसम्म पनि पूर्णता पाएको छैन । पार्कभित्र धेरै पूर्वाधार बनाउनुपर्ने देखिएको छ ।

भीमसेनको दर्शनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटक मन्दिर नजिक पर्ने कारण चम्पुजा र मञ्जुश्री पार्क जाने गरेका छन् । आर्थिक समृद्धिका लागि यहाँका धार्मिकस्थल र पार्क कोशेढुङ्गा सावित हुने वडा नं २ का वडाध्यक्ष विराजमान श्रेष्ठले जानकारी दिए ।

तिब्बतबाट नेपालमा आउँदा वडा नं २ तिलिञ्चोमा बास बसी तत्काल किर्तिपुरमा पुगी चोभारको डाँडा मञ्जुश्री काटेका र हाल काठमाडौँ उपत्यका बनेको भन्ने भनाइ रहिआएको छ । धार्मिक आस्थाको धरोहरसमेत भएको कारण पर्यटकको भीड लाग्ने गरेका स्थानीय समाजसेवी भरत प्रधानले बताए। रासस