काठमाडौँ– पहिलो चरणबाट बचेको कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप दोस्रो चरणमा प्राथमितामा परेका व्यक्तिलाई दिने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार, पहिलो चरणमा चार लाख ३० हजार जनालाई लगाउन योजना बनाएको खोप सबैलाई पुगेर बचेपछि दोस्रो चरणमा प्राथमिकतामा परेकालाई लगाउने तयारी गरिएको हो ।


ADVERTISEMENT


यही माघ १४ गतेबाट शुरु गरिएको खोप अहिलेसम्म एक लाख ४५ हजार ८ सय ४४ जनाले लगाएपछि खोप बच्न सक्ने भएकाले ती खोप दोस्रो चरणमा प्राथकमकतामा परेका व्यक्तिलाई दिइने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


छिमेकी राष्ट्र भारतले १० लाख मात्रा खोप उपलब्ध गराएको खोप चार लाख ३० हजार प्राथमिकतामा परेका व्यक्तिलाई यही माघ २४ गतेसम्म लगाइँदैछ । खोप लगाउन अझै तीन दिन बाँकी छ । अहिलेसम्म स्वास्थ्यकर्मीलाई मात्र लगाएको बताउँदै डा. गौतमले भने; ‘यो तीन दिनमा बढी जनसङ्ख्यालाई लगाउने भएका छौँ । अब प्राथमिकता परेका अध्यागमन कार्यालय, भन्सार कार्यालय, अन्तर्राष्ट्रिय विमानस्थल र वृद्धास्थलमा गएर खोप लगाउँछौँ ।’

मन्त्रालयका प्रवक्ता डा. गौतमले अनुमान गरेभन्दा स्वास्थ्यकर्मी मुलुक बाहिर रहेकाले खोप बच्न सक्ने बताएका छन् । मन्त्रालयले सरकारी स्वास्थ्यकर्मी ३० हजार, महिला स्वास्थ्य स्वयंसेविका ६० हजार र स्वास्थ्य काउन्सिलमा दर्ता भएका दुई लाख ५० हजारलाई खोप लगाउने लक्ष्य राखेको थियो । तर धेरै स्वास्थ्यकर्मी काउन्सिलमा दर्ता भए पनि मुलुक बाहिर रोजगारी गरिरहेकाले लक्ष्यभन्दा कम स्वास्थ्यकर्मीले खोप लगाएको उनको भनाइ छ ।

सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रम रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीलाई राखेको थियो ।

सरकारले तीन प्रतिशत जनसङ्ख्यालाई खोप दिने लक्ष्यका साथ पहिलो चरणमा पनि प्राथमिकतामा परेका व्यक्तिलाई खोप वितरण गरेको थियो । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार, बचेको खोप लगाउनेबारे छलफल भइरहेको छ । रासस