बाग्लुङ– पत्रकारको मिहिनत र लगनशिलतालाई पुरस्कृत गर्ने उद्देश्यले ‘टीका–धन क्रियाशील पत्रकारिता पुरस्कार’ कोषको स्थापना गरिएको छ । क्रियाशील पत्रकारलाई आफ्नो पेशाप्रति अझ प्रेरित गर्ने उद्देश्यले नेपाल पत्रकार महासङ्घ बागलुङ शाखामा ‘टीका–धन क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरिएको हो ।


ADVERTISEMENT


दिवङ्गत टीकाराम खरेलका स्मरणमा गलकोट नगरपालिका ९ मल्म छिसकी ९४ वर्षीया धनकला र सन्ततिद्धारा स्थापित उक्त कोषले जिल्लामा सक्रिय एक पत्रकारलाई वर्षेनी पुरस्कृत गर्ने उद्देश्यले शाखामा रु. एक लाख बराबरको पुरस्कार कोष खडा गरिएको खरेलका कान्छा छोरा मित्र खरेलले जानकारी दिएका छन्। गलकोट पत्रकार समाजका अध्यक्षसमेत रहेका उनले कोषबाट आउने ब्याजबाट पुरस्कार प्रदान गरिने बताए ।


ADVERTISEMENT

# # #


आमाले ज्येष्ठ नागरिक भत्ताबापत पाएको रकम पुरस्कार कोषमा जम्मा गरेको बताउँदै उनले भने; ‘परिवारका तर्फबाट पनि सहयोग थपिएको छ ।’ दिवङ्गत बुवाको सम्मान र पुरस्कारमार्फत पत्रकारिता क्षेत्रको प्रवद्र्धनमा पनि योगदान पुगोस् भन्ने सोचेर कोष स्थापना गरेको उनले स्पष्ट पारे ।

यस्तै, महासङ्घ बाग्लुङ शाखाका अध्यक्ष दिल शिरीषले पनि छुट्टै कार्यविधि बनाएर पुरस्कार कोष सञ्चालन तथा व्यवस्थापन गरिने बताएका छन्। उनका अनुसार, महासङ्घका यो सहित चारवटा पुरस्कार कोष रहेका छन् । सबै पुरस्कार फरक–फरक विधामा प्रदान गरिनेछ ।

‘पत्रकारितामा ऊर्जाशील र फरक ढङ्गले काम गरिरहेका नयाँ पुस्ताका पत्रकारलाई प्रोत्साहित गर्ने गरी यो पुरस्कार दिने सोच छ; उनले भने । पत्रकारिता पुरस्कार स्थापना गरेर खरेल परिवारले अनुकरणीय कार्य गरेको उनले बताए । उनका अनुसार, कोषको रकम संरक्षक धनकला र उनका परिवारका सदस्यले मङ्गलबार महासङ्घका शाखा अध्यक्ष शिरीषलाई हस्तान्तरण गरेका छन् । रासस