हुम्ला–अज्ञात रोगको सङ्क्रमणले गाईबस्तु धमाधम मर्न थालेपछि किसान चिन्तामा डुबेका छन् । पहिचान गर्न नसकेको अज्ञात रोगको संक्रमण घरपालुवा गाईवस्तुमा फैलिएर मर्न थालेपछि किसान चिन्तामा डुबेका हुन् ।


ADVERTISEMENT


हुम्लाको तल्लो क्षेत्रस्थित अदानचुली गाउँपालिकामा निकै लामो समयको खडेरीले गर्दा विभिन्न किसिमका अज्ञात रोगको सङ्क्रमण भई गाईवस्तु मर्न थालेका छन् । मङ्गलबार मात्रै यहाँका अकस्मात् पाँच गाईवस्तुको मृत्यु भएको स्थानीयवासी राजबहादुर बुमीले बताए ।अहिलेसम्म रोग पहिचान हुन नसकेको बताउँदै उनले भने; ‘के कति कारणले, कस्तो रोगले मरेका हुन् ? त्यसको बारेमा थाहा छैन । अकस्मात पशु मर्न थालेका छन् ।’


ADVERTISEMENT

# # #


यस्तै, केही दिनअघि पनि धेरै ठाउँमा गाईबस्तु मरेको खबर आएको उनले बताए । उनका अनुसार, रोगको पहिचान हुन नसक्दा उपचार नपाएर गाईवस्तु मर्ने क्रम जारी छ । ‘रोगको पहिचान हुन नसक्दा उपचारसमेत गराउन नपाएकोमा उनले गुनासो गरे । सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदा पनि रोकथाममा चाँसो नदिँदा गाईवस्तु मर्न थालेको बुमीको दुःखेसो छ ।

अर्कातर्फ, गाउँपालिका पशुसेवा शाखाले भने यस सम्बन्धी कार्यालयमा कुनै जानकारी वा सूचना नआएको जनाएको छ । शाखाका प्राविधिक अमर बुमीले यसबारे आफूलाई कुनै पनि सुचना नआएको प्रस्ट पार्दै भने; ‘कुन ठाउँमा हो? हामीलाई कुनै पनि जानकारी आएको छैन । यदि आयो भने हामी तत्काल गएर हेर्ने र गाउँपालिकामा भएको औषधि प्रयोग गर्ने तथा नभए प्रक्रिया अगाडि बढाउन सक्छौं ।’

अज्ञात रोगबारे पशु स्वास्थ्य प्राविधिक र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले स्थलगत निरीक्षण गरे मात्र भन्न सकिने बुमीले बताए।