काठमाडौं,
२०-असोज /  
एमाले–माओवादीको चुनावी समीकरण र पार्टी एकताको प्रयासका कारण दुवै दलका कार्यकर्तामा व्यापक असन्तुष्टि देखिएको छ । हिजोसम्म आफ्नो पार्टी भनेर गर्व गर्दै हिँडेका ती दुवै दलका कार्यकर्ता आज आफूलाई राजनीतिक कार्यकर्ता भनेर चिनाउन पनि गाह्रो मानिरहेका छन् ।


ADVERTISEMENT


कार्यकर्तापंक्ति मात्र होइन, ती पार्टीका नेताहरू पनि हठात् रूपमा भएको चुनावी गठबन्धनले अलमलमा परेका छन् । माओवादी कार्यकर्ता प्रचण्ड केपी ओलीको माखेसाङ्लोमा अल्झिँदा आफूहरूको राजनीतिक भविष्य सखाप भएको बताइरहेका छन् । १० वर्षे जनयुद्धमार्फत १७ हजार नेपालीहरूको बलिदानीलाई पार्टी अध्यक्ष प्रचण्डले क्षणभरमा माटोमा मिलाइदिएको भन्दै उनीहरू आक्रोश पोखिरहेका छन् ।


ADVERTISEMENT

# # #


त्यसैगरी, एमालेभित्रका नेता–कार्यकर्ता पनि आफ्ना पार्टी अध्यक्ष केपी ओलीले प्रचण्डको ललिपपमा फसेर सम्पूर्ण नेता–कार्यकर्तालाई बिचल्लीमा पारेको बताउन थालेका छन् । प्रचण्डको ढुलमुले चरित्रमाथि विश्वास गरेर ओलीले एमालेका लाखौँ कार्यकर्तालाई भड्खारोमा हालेको भन्दै कार्यकर्ता उनीप्रति रुष्ट बनेका छन् । जुन पार्टीले जनयुद्धका नाममा आफ्ना परिवारका सदस्यहरूलाई हत्या गरेर परिवार नै तहस–नहस पारिदियो, आज त्यही पार्टीलाई भोट दिएर सीमित नेताहरूको स्वार्थपूर्ति गर्न नसकिने भन्दै उनीहरूले आक्रोश पोखेका हुन् ।

एमाले र माओवादी दुवैको नाममा ‘कम्युनिष्ट’ शब्द जोडिएकै भरमा एउटै पार्टी मान्न दुवैतर्फका कार्यकर्ता तयार छैनन् । हिजोसम्मका वर्गशत्रु दुई पार्टी रातारात अभिन्न मित्र बन्न कसरी सक्छन् ? नेतृत्वले जबर्जस्ती मिलन गराउन खोज्दैमा कार्यकर्ता लुरुलुरु त्यतै लाग्छन् भन्ने सोच्नु एमाले तथा माओवादी नेताहरूको दिवास्वप्न मात्र
हो ।

एमाले विशेषगरी पञ्चायती व्यवस्थामा हुर्किएको पार्टी हो । शुरुमा दरबारले प्रयोगका रूपमा गठन गरेको पार्टी भए पनि कालान्तरमा सो पार्टी लोकतान्त्रिक पार्टीमा रूपान्तरण हुँदै आएको पार्टी हो । विशेषगरी तत्कालीन महासचिव मदन भण्डारीको बुद्धिमत्तापूर्ण निर्णयले एमाले जनतामा लोकप्रिय बनेको कुरा कसैले नकार्न सक्दैन । मदन भण्डारीपछि सो पार्टीलाई मनमोहन अधिकारी, माधवकुमार नेपाल र झलनाथ खनालले मदनकै लाइनअनुसार चलाएका थिए । उनै भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’का कारण एमालेलाई जनताले साथ दिएका हुन् ।

बुद्धको जन्मभूमि नेपालका जनता शान्तिप्रिय छन् । जनताले एमालेलाई यसअघि विश्वास गर्नुको कारण एउटा कम्युनिष्ट पार्टी भएकाले होइन, कांग्रेसपछिको वैकल्पिक लोकतान्त्रिक शक्तिका रूपमा देखिन थालेकाले हो । नाममा कम्युनिष्ट शब्द जोडिए पनि बहुदलीय लोकतान्त्रिक प्रणालीलाई एमालेले आत्मसात् गरेका कारण उसलाई जनताले विश्वास गरेका हुन् । आज सीमित नेताको स्वार्थका कारण जबर्जस्ती माओवादीमा मिलाउँदैमा एमालेका कार्यकर्ता त्यतै लाग्छन् भन्ने सोच्नु मूर्खता सिवाय केही होइन । नेताहरूको ‘मालपानी’मा बिकेका सीमित कार्यकर्ता उनीहरूको पछि लाग्लान्, तर हिजोका दिनमा सूर्यमा भोट हालेका सबै कार्यकर्ता माओवादीको कार्यकर्ता बन्ने सम्भावना देखिँदैन ।

माओवादी पनि आफ्नै खाले विशेषताबाट हुर्किएको पार्टी हो । २०४६ सालको प्रजातन्त्रप्राप्तिको आन्दोलनपछि भएको आमनिर्वाचनमा भाग लिएर त्यसमा सोचेअनुरूपको सफलता नपाएपछि ‘जनयुद्ध’मा होमिएको सो पार्टीलाई गाउँगाउँका गरिब जनताले साथ दिए । कसैले आसले साथ दिए होला, कसैले त्रासले साथ दिए होला । जनयुद्धकै कारण माओवादी मजबुत बनेको कुरालाई नकार्न सायदै कसैले सक्छ । नेतृत्व जसको निर्देशनअनुसार चलेको भए पनि गाउँगाउँका गरिब किसानका छोरा–छोरी ‘माओवादीले साँच्चै परिवर्तन गर्न सक्छ’ भन्ने विश्वासकै कारण सो पार्टीमा लागेका थिए ।

त्यसकारण एमाले र माओवादीको सिद्धान्त एउटै हो भनेर मान्न अरू त के उनीहरूकै कार्यकर्ता पनि तयार छैनन् । जनयुद्धको मर्म बुझेका माओवादी कार्यकर्ता मोहन वैद्यलाई वा विप्लवलाई साथ दिन तयार होलान्, तर एमालेको कार्यकर्ता बनेर बस्न कदापि सक्दैनन् । त्यसैगरी लोकतन्त्रलाई आत्मसात् गरेका एमाले कार्यकर्ता पनि बरु कांग्रेस बन्न तयार हुन्छन्, माओवादीको कार्यकर्ता बन्न कदापि सक्दैनन् ।

यी र यस्ता थुप्रै कारणले गर्दा एमाले–माओवादी गठबन्धन चुनावसम्म पनि टिक्ने सम्भावना छैन । यदि कुनै बाह्य शक्तिको दबाबका कारण चुनावसम्म टिकिहाले भने पनि उनीहरूबीच पार्टी एकता सम्भव देखिँदैन । नेताहरूले आफ्नो निजी स्वार्थपूर्तिका लागि एकता गरिहाले भने पनि सो पार्टीमा कार्यकर्ता बाँकी रहन मुस्किल देखिन्छ । कार्यकर्ता जति कांग्रेस र वैद्य वा विप्लव माओवादीमा लागेपछि सो पार्टीले ‘कार्यकर्ताविनाको पार्टी’का रूपमा गिनिज बुकमा नाम लेखाउने सम्भावना भने नकार्न सकिँदैन ।