काठमाडौ,
२०-असोज /   कीर्तिपुर अस्पतालमा बिहीबार मध्याह्न १२ बजे पुग्दा त्यहाँको दृश्य सुनसान देखिन्थ्यो। चाडपर्वका कारण अस्पतालमा कर्मचारीदेखि चिकित्सकको संख्या न्यून थियो। बिरामीको खासै चाप थिएन। एक्कासि छाती दुखेर अस्पताल पुगेका ६७ वर्षीय हीराबहादुर महर्जनलाई अस्पतालले भर्ना लियो। उहाँलाई थाहै थिएन अस्पतालले जेष्ठ नागरिकलाई छुट दिन्छ भन्ने कुरा। सरकारले केही समयअगाडि जेष्ठ नागरिकलाई निजी तथा सरकारी अस्पतालले स्वास्थ्य उपचारमा छुट दिनुपर्ने व्यवस्था गरे पनि सो अस्पतालले जेष्ठ नागरिकलाई छुट दिने बारे कतै पनि कुनै सूचनासमेत टाँस गरेको थिएन। नेपाल समाचार पत्र दैनिकमा खबर छ ।


ADVERTISEMENT


कीर्तिपुर अस्पताल प्रशासनले परिचय–पत्रको आधारमा अस्पतालको बेड र ल्याब टेस्टमा जेष्ठ नागरिकलाई १५ प्रतिशत छुट दिने गरेको जानकारी दिएको छ। सरकारले निजी अस्पतालमा परिचय–पत्रका आधारमा जेष्ठ नागरिकलाई बेडमा १० प्रतिशत छुटको व्यवस्था गरेको छ। यद्यपि अधिकांश निजी अस्पतालले स्वास्थ्य सेवामा छुट नदिएको पाइएको छ।


ADVERTISEMENT

# # #


स्वास्थ्य मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक भोगेन्द्रराज डोटेलले  भन्नुभयो– ‘सरकारीअस्पतालले गरीब, अति–गरीब, महिला स्वयंसेविका, अपाङ्ग र जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्छ। वीर अस्पताललगायतका केही अस्पतालले भने जेष्ठ नागरिकलाई निःशुल्क सेवा उपलब्ध गराइरहेका छन्।’

सरकारले प्रत्येक नागरिकलाई स्वास्थ्यमा निःशुल्क भने पनि कार्यान्वयनमा निकै चुनौती देखिएको छ। न त बिरामीले सहज तरिकाले अस्पतालबाट निःशुल्क औषधि पाउँछन् न त स्वास्थ्य सेवा नै। वीर अस्पतालमा स्वास्थ्य जाँचका लागि पुगेका धनगढीका रमेश रोकायाले भन्नुभयो- ‘के गर्नु सरकारले निःशुल्क स्वास्थ्य सेवा त भन्छ तर नारामा मात्रै सीमित छ। कमसेकम स्वास्थ्यजस्तो संवेदनशील विषयमा सरकार गम्भीर हुनुपथ्र्यो नि।’

सरकारले केही वर्षअगाडि सरकारी स्वास्थ्य संस्थाबाट ७० प्रकारका औषधि निःशुल्क वितरण गर्ने प्रावधान ल्याएको थियो। यद्यपि ती औषधि अधिकांश स्वास्थ्य संस्थाबाट निःशुल्क वितरण हुँदैनन्। सरकारी तथा निजी अस्पतालले जेष्ठ नागरिकलाई बेड र औषधि उपचारमा छुट दिने गरेको पाइँदैन। काठमाडौंसहित देशभरका अस्पतालले जेष्ठ नागरिकलाई सरकारले तोकेबमोजिम छुट नदिएको पाइएको हो।

जसले गर्दा जेष्ठ नागरिकलाई सरकारले दिएको सेवा सुविधा नाम मात्रैको भएको छ। सरकारले सरकारी अस्पतालमा जेष्ठ नागरिकको हकमा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरेको छ भने निजीमा जेष्ठ नागरिकलाई १० प्रतिशत छुट दिनुपर्ने बताएको छ। अल्का अस्पताल जावलाखेलले आफूहरूले बेडमा सरकारले तोकेबमोजिम जेष्ठ नागरिकलाई छुट दिएको बताएको छ।

सो अस्पतालकी प्रशासन प्रमुख रोजिका मानन्धरले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हामीले अस्पतालमा आउने जेष्ठ नागरिकलाई हरेक क्षेत्रमा नागरिकता वा परिचय–पत्रको आधारमा सहुलियत दिँदै आएका छौं। र, विवरणसमेत स्वास्थ्य मन्त्रालयलाई बुझाउँछौं।’ सरकारले स्वास्थ्य क्षेत्रमा पर्याप्त मात्रामा लगानी गरे पनि नागरिकले सोचेअनुरुप सहज तबरबाट स्वास्थ्य सेवा पाउन सकिरहेको देखिएको छैन।