मकवानपुर– नयाँ वस्तीका तामाङ/चेपाङ समुदायले सुरक्षित र दिगो आवासको माग गरेका छन् । मनहरि गाउँपालिका–४ का स्थानीय तामाङ एवम् चेपाङ समुदायले सरकारसंग सुरक्षित । दिगो आवास व्यवस्थाको माग गरेका हुन् ।


ADVERTISEMENT


उनीहरु वि सं २०७४ साउन २७ र २८ गते आएको बाढीका कारण घरबारबिहीन बनेका थिए । त्यसपश्चात् भने लाम्पाखा, चुवारपाखा, अजिङ्गरे, चिसापानीलगायत बस्तीका उनीहरु पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा स–साना घर तथा टहरो बनाएर बस्दै आएका छन् । तर, निकुञ्जले वनलाई अतिक्रमण गरेर बनाइएका घर टहरा बनाएको भन्दै ती हटाउनका निम्ति बारम्बार दबाब दिने गरेको मनहरि गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताए ।


ADVERTISEMENT

# # #


तामाङ/चेपाङ समुदायको सो माग अनुरुप, बुधबार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्राविधिकसहितको टोलीले वस्तीको अनुगमन गरेर चाँडो भन्दा चाँडो उक्त समस्यालाई हल गर्न सरोकारवालासँग आवश्यक समन्वय गर्ने विश्वास दिलाएको छ । प्राधिकरणका कार्यकारी समिति सदस्य डा. चन्द्रबहादुर श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, गाउँपालिकाका अध्यक्ष उप्रेती, मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौर, मनहरि–४ का वडाअध्यक्ष धु्रव खड्का, पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारी, जिल्ला आयोजना कार्यान्वयन इकाइका कर्मचारीलगायतले सुरक्षित र व्यवस्थित आवासका लागि पहल गर्ने विश्वास व्यक्त गरेका छन् ।

बस्तीको स्थायित्व नभएका कारण भूकम्पको लाभग्राही सूचीमा परेका उनीहरु भवन निर्माणका लागि सम्झौता गर्न नपाएको वडा नं ४ का अध्यक्ष धु्रव खड्काले बताउनुभयो । भूकम्पको लाभग्राही सूचीमा परेका १ सय ४३ परिवारलाई सम्झौताका लागि सिफारिस गर्न कानूनी अड्चन आएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए । जङ्गलको बीचमा बसेको अस्थायी बस्तीलाई स्थायी बसोबासको व्यवस्था मिलाइदिन उनीहरुले माग गरिरहे पनि निकुञ्ज प्रशासनले भने कुनै पनि हालतमा बस्ती उठाउने दाबी गरिरहेको छ ।

उक्त क्षेत्रको बस्ती विकासका निम्ति चालू आर्थिक वर्षमा गाउँपालिकाले रु ५० लाख बजेट विनियोजन गरेको भए पनि कानूनी जटिलताका कारण सो रकम खर्च गर्न नसकिएको अध्यक्ष उप्रेतीले बताएका छन् । रासस