पोखरा– कोरोना महामारीको प्रभाव विदेशी मुुद्रा सटहीमा पनि देखिएको छ । पर्यटकीय नगरी पोखरामा वार्षिक झण्डै रु दुई अर्ब बराबरको कारोवार हुनेमा कोरोनाको प्रभावका कारण विदेशी पर्यटक आउन छाडेपछि मुद्रा सटही व्यवसाय शून्यतामा झरेको मनिचेन्जर एशोसिएशनका अध्यक्ष कृष्ण भण्डारीले बताएका छन् ।


ADVERTISEMENT


मनि चेन्जर एशोसिएशनमा हाल ४२ रकम सटही आवद्ध रहेको बताउँदै उनले भने; ‘पहिले झण्डै १ सय ५० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेको व्यवसाय कोरोनाले ठप्प पारेको छ ।’ कोरोनाको प्रभाव रोजगारी क्षेत्रमा समेत उत्तिकै रहेको उनको ठम्याई छ ।


ADVERTISEMENT

# # #


बढ्दो विदेशी पर्यटकको आकर्षणसँगै मनि मुद्रा सटहीहरू खुल्न थालेको पर्यटन व्यवसायी बताउँछन् । मुद्रा सटहीलाई व्यवस्थित बनाउनका लागि विसं २०५४ मा यहाँ एशोसिएशन बनाएर सबै व्यवसायीलाई एउटै छातामा आवद्ध गराइएको जानकारी अध्यक्ष भण्डारीले दिए । करिब एक दशक अघिसम्म पोखरामा मनि सटही खुल्ने क्रम बढेको उल्लेख गर्दै उनले त्यस क्रममा ५० को हाराहारीमा मनि सटहीहरू पुगेको बताए ।

पछिल्लो पटक एटिएम कार्डको बढ्दो प्रयोगकर्ताका कारण पनि यो व्यवसायमा असर पुगेको भन्दै उनले अघि भने; ‘ अन्यथा, पर्यटक आउनासाथ सबैभन्दा पहिले पुग्ने स्थान नै मुद्रा सटही हो । त्यसैले पनि यो पर्यटनको महत्वपूर्ण पाटोजस्तै बनेको छ ।’ बैंकिङ संस्थाहरूको बढे पनि बिहानदेखि बेलुकासम्म पर्यटकका लागि मुद्रा सटही गरेर मनि चेन्जरहरूले ठूलै योगदान पुर्याएको भण्डारीको भनाइ छ ।

उनका अनुसार, सटही विनियमावली २०७७ ले मनि सटहीरहरूले पल्स मेसिनको प्रयोग गरी डेबिट, क्रेडिट कार्डका साथै भिजा कार्डबाट भुक्तानी दिने व्यवस्था मिलाएको छ । कोरोनाको कहरसँगै कतिपयले त संस्था नै बन्द गरेर बसेको मनि चेन्जर एशोसिएशन पोखराका पूर्वकोषाध्यक्ष एवं श्रेष्ठ मनि चेन्जर प्रालिका सञ्चालक कृष्णकुमार श्रेष्ठ बताउँछन् । विदेशी पर्यटनको आगमन ठप्प हुनुका साथै बढ्दो एटिएम कार्डको प्रयोगले व्यवसाय प्रभावित भएको अनुभव उनको पनि रहेको छ । यसले मुद्रा सटहीले विगतमा दिएको रोजगारीलाई पनि सङ्कटमा पारेको उनले सुनाए ।

उनले मुद्रा सटहीहरूले लामो समयदेखि नै पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएकोप्रति कुनै पनि दुईमत नरहेको स्पष्ट पारे। रासस