बाग्लुङ– बाढी पहिरो विपत्तिबाट क्षति भएको घर पुनः निर्माण गरिने भएको छ । स्थानीय तहले जिल्ला विपद् व्यवस्थापन समितिमा बाढी पहिरोले क्षति पुर्याएको, भाँसिएको, पुरिएको र चर्केको घर पुनःनिर्माणका लागि सिफारिस गरेसंगै त्यहाँका ५ सय ९० घर पुनः निर्माण गरिने भएको हो ।


ADVERTISEMENT


विपद्ले क्षतिग्रस्त घर जोखिममा परी विस्थापित भएको भन्दै जिल्ला विपद् व्यवस्थापन समितिले पुनःनिर्माण गर्न आवश्यक रहेको जनाएको थियो ।


ADVERTISEMENT

# # #


गत साउनयता यहाँ विपद्का घटना धेरै भएका छन् । गएको छ महिनामा मात्रै यहाँ विपद्का कारण ज्यान गुमाउनेको संख्या ३७ रहेको छ भने १७ अझै बेपत्ता छन् । यस्तै २ सय २९ घर पूर्ण र २० घर आंशिक रुपमा क्षति भएको छ । समितिले बाढी पहिरोमा बेपत्ता १७ जनालाई मृत्युसरह राहतसमेत उपलब्ध गराएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार बागलुङमा साउनयता घटेका विपद्का घटनामा मात्रै रु. एक करोड ३७ लाख ७५ हजार राहत रकम हस्तान्तरण भएको छ । सोमध्ये सङ्घीय सरकारबाट प्राप्त रु ९० लाख राहत वितरण गरेको र पूर्ण क्षति भएको २ सय २९ घरलाई रु १८ लाख ८२ हजार ५ सय राहत रकम हस्तान्तरण गरिसकेको छ ।

बाढी पहिरोमा वेपत्ता १७ जना खोजतलास गर्दा अहिलेसम्म पनि फेला नपरेका कारण गृह मन्त्रालयको निर्देशनानुसार उनीहरुको परिवारलाई मृत्यु समान राहत रकम हस्तान्तरण गरेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलेले बताए । यस्तै, गण्डकी प्रदेश सरकारले समेत मृत्यु भएका ३७ र बेपत्ता भएका १७ जनाको परिवारलाई जम्मा रु २७ लाख ५० हजार रकम प्रदान गरिसकेको छ । यस्तै ,आंशिकरूपमा क्षति भएका २० घरलाई प्रदेश सरकारले रु १० हजारका दरले रु दुई लाख राहत वितरण गरेको छ ।

विपद् व्यवस्थापन समितिले बाढी पहिरोका कारण घरबास गुमेकाहरु अहिले आफन्त, विद्यालय तथा सामुदायिक भवनमा आश्रय लिएर बसेको जनाएको छ । विपदबाट साउनयता जिल्लाका १० वटै पालिकामा ५ सय ९० घरपरिवार विस्थापित भएको र उनीहरुको घर पुनःनिर्माण गर्न पारित गरी गृह मन्त्रालय पठाइसकेको जानकारी प्रमुख जिल्ला अधिकारी न्यौपानेले दिए । गृह मन्त्रालयले बागलुङलाई सङ्कटग्रस्त क्षेत्रका रूपमा घोषण गरी पुनःनिर्माणको समेत थालनी गर्न लागेको छ ।

साउनयता घटेका विपद्का घटनामध्ये ढोरपाटनमा मृत्यु हुनेको संख्या बढि रहेको छ । यहाँको भूजीखोलामा आएको बाढीले मात्रै २२ जनाको ज्यान लिएको थियो भने, १६ बेपत्ता भएका थिए । यस्तै तमानखोला, निसीखोला र जैमिनी नगरपालिकासहित समग्र जिल्लामा विपद्का घटना वृद्धि भएका थिए ।

बाढी पहिरोका कारण घर, गोठ, विद्यालय, खेलमैदान, खानेपानी, खेतीयोग्य जमिन जोखिममा रहेकालाई स्थानीय तहबाट आएको सिफारिसका आधारमा विपद् व्यवस्थापन समिति, आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेश, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङ, भू तथा जलाधार कार्यालय पर्वतमा पुनःनिर्माण, पुनःस्थापना, मर्मतसम्भार तथा ग्याविन तार जालीका लागि सिफारिस गरिएको छ । रासस