हुम्ला– मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–६ मा रहेको बराइ स्वास्थ्यचौकी झण्डै दुई महिनायता स्वास्थ्यकर्मी बिना नै सञ्चालन हुदैँ आएको छ। सात कर्मचारीको दरबन्दी भएपनि स्वास्थ्यकर्मी नहुदा बराइ स्वास्थ्यचौकी एक कार्यालय सहयोगीको भरमा नै सञ्चालन हुँदै आएको हो ।


ADVERTISEMENT


मङ्सिर १५ गते यतादेखि कर्मचारी कोही पनि नभएको अवस्थापछि हाल कार्यालय सहयोगी मानबहादुर रोकायाको भरमा सो स्वास्थ्यचौकी सञ्चालन भईरहेको छ । एचए एक, अनमी दुई, अहेब दुई र कार्यालय सहयोगी एक गरेर कुल सात जनाको दरबन्दी भए पनि स्वास्थ्यचौकीमा कोही पनि स्वास्थ्यकर्मी नभएप्रति यहाँका स्थानीयवासीले गुनासो समेत राखेका छन् ।


ADVERTISEMENT

# # #


स्वास्थ्यकर्मीको अभावमा गाउँमा सेवा लिने बिरामीको बिजोग हुन थालेको छ । कार्यालय सहयोगी रोकायाले सिटामोलबाहेक अन्य औषधि नचिन्ने भएकाले सेवा लिन पुगेका बिरामीले दुई महिनादेखि रित्तो हात घर फिर्ता हुनुपरेको बताइएको छ । गाउँमै स्वास्थ्यचौकी भएपनि आवश्यक सेवा नपाईने भएपछि बराइगाउँका स्थानीयवासी बिरामी हुँदा सामान्य उपचारका लागि कोही साढे एक घण्टाको कष्टकर पैदल हिँडेर सर्केगाड स्वास्थ्यचौकीमा पुग्ने गरेका छन् । यस्तै, कोही भने जिल्ला अस्पताल सिमकोट पुग्ने गरेको ६० वर्षीय स्थानीयवासी राना बुढाले बताए।

आफू आँखा जाँचका लागि स्वास्थ्यचौकी पुग्दा उपचार गर्ने स्वास्थ्यकर्मी नभेटेर रित्तै फिर्ता भएको गुनासो उनले गरे । केही महिना अगाडि मात्रै एक एचए सरुवा भएको र दरबन्दीअनुसार पालिकाले कर्मचारी नपठाएको कारण यो समस्या निम्तिएको उनले सुनाए । दुई जनाको दरबन्दी रहेको अहेव समायोजन भएदेखि गाउँपालिकाले अन्य कर्मचारी पठाएको छैन । दुई करार अनमी कर्मचारी स्थानीयवासी भए पनि उनीहरु उपस्थित नहुने गरेको बताइएको छ ।

कार्यालय सहयोगी रोकायाले आफू एक्लै भएकाले काम गर्न गाह्रो भएको र सिटामोलबाहेक अन्य औषधि चिन्न नसकेकाले बिरामी आउँदा समस्या हुने गरेको बताए। स्वास्थ्यचौकी भएर पनि स्वास्थ्यकर्मी नै नभएपछि गाउँमा यतिबेला बिरामीको चाप बढेको छ । यस विषयप्रति वडा र गाउँपालिकाको मौनका कारण  यस क्षेत्रको स्वास्थ्य स्थिति झन्  डामाडोल बनेको छ । रासस