• दिपक खड्का, पूर्व राज्यमन्त्री तथा सांसद, नेपाली कांग्रेस

व्यस्तता केमा छ आजकाल ?


ADVERTISEMENT


देशभरी चुनाबको माहोल छ । स्थानीय चरणको चुनाब सकिएको छ । अब प्रदेशको र संसदको चुनाब नै लागि सक्यो । जनतासंग जाने भेटघाट गर्ने, नेताहरुसंग भेटघाट छलफल गर्ने, यिनै चुनाबहरुबाट नै संविधान कार्यान्वयन हुने हुँदा कसरी सफलतापूर्बक बाँकी निर्वाचनहरु सम्पन्न गर्ने, नतिजा आफ्नो पक्षमा कसरी पार्ने लगायतकै बिषयहरुमा ध्यान र व्यस्तता केन्द्रित छ ।


ADVERTISEMENT

# # #


चुनाबी तयारी कस्तो छ त ?

राजनीतिकर्मीले सँधै गर्नुपर्ने काम कर्तव्य अनुरुप जनतासंगको साक्षात्कार त संधै भई नै रहेको छ । संखुवासभाको जिल्लाको हकमा भन्नुपर्दा प्रदेशका लागि दुईवटा निर्वाचन क्षेत्रहरु छन्, केन्द्रका लागि एउटा निर्वाचन क्षेत्र छ । पार्टीमा प्रतिस्पर्धी, आकाँक्षी साथीहरु धेरै हुनुहुन्छ, उहाँहरुको व्यवस्थापनको बिषयमा कुरा हुन्छ । कस्तो व्यक्तित्वलाई उठाउँदा पार्टीले जित्छ भन्ने बिषयमा छलफल हुन्छ ।

तपाईले टिकट पाउने कुरामा त कुनै शँका नै नहोला नी हैन ?

मैले साथीहरु र नेताहरुलाई स्पष्ट भनेको छु की म प्रदेशको होईन केन्द्रको मात्र आकाँक्षी हो । अब मेरो आकाँक्षासंगै अरुको पनि आकाँक्षा हुनसक्छ । अब यस्मा मिहिन छलफल र उत्कृष्टताको बिषयमा जिल्लामा टुँगिए राम्रो, नभए पनि केन्द्रबाट त यस्को छिनोफानो भई नै हाल्छ ।

के का लागि दिपक खड्काको उमेद्धवारी ईच्छा हो भन्ने पनि स्पष्ट बनाईदिनुस् न ।

संखुवासभाको राजनीतिमा राष्ट्रिय पहुँच अन्य जिल्लाको भन्दा कम छ । यस्ले गर्दा विकासको गतिमा प्रभाब पार्छ नै । हामीले संविधान निर्माण गर्यौँ, जनताका हक अधिकारहरुको सुनिश्चितताको पाटो र शान्ति सुरक्षाको बिषयमा काम गर्यौँ । अर्को पाटो भनेको चाहीँ क्षेत्र र जिल्लामा त्यहाँको प्रतिनिधिको क्षमता, आकाँक्षा ईच्छाबाट मात्रै सो ठाउँको विकास सम्भब हुने हुँदा र म लामो समय देखि क्षेत्र, जिल्ला र समग्र देशको नै विकास र समृद्धिका लागि लागिरहेकोले आँफूमा यी सबै योग्यता , क्षमता छन् र काम गरेर देखाउने तिब्र ईच्छा भएकोले नै आकाँक्षी भएको छु । अब यस्मा पार्टीले तय गर्ने बिषय छ, छलफलको बिषय छ ।

के कस्ता विकास र कामहरु गर्नुपर्ने छन् त संखुवासभामा ?

मैले पहिले देखि नै भन्दै आईरहेको छु की संखुवासभामा धेरै सम्भावना र श्रोत साधनहरु छन् । राजनीतिक अस्थिरता र केन्द्रिय पहुँच नपुगेकोले यो ठाउँ छायाँमा परेको हो । यहाँ उर्जाको विकास गरेर रोजगारी बनाउँदै जिल्लालाई बलियो बनाउन सकिन्छ । पर्यटकीय रुपमा समेत विकास गर्ने थुप्रै आधारहरु छन् । जडिबुटीको विकास गरेर समृद्धि ल्याउन सकिन्छ । कृषि उत्पादनका क्षेत्रमा समेत आधुनिकीकरण गरेर बाँझोे रहेका खेतहरुलाई उपभोग गरेर आयश्रोत बढाउन सकिन्छ ।

किमाथाङ्का देखि जोगमुनि सम्मको उत्तर दक्षिण हाईवे छ । यस्को विकास गरेर दुई ठूला देशहरु बीच हुने अरबौँ डलरको ब्यापारको ट्रान्जिट पोईन्टका रुपमा संखुवासभालाई विकास गर्न सकिन्छ । यस्बाट समृद्ध संखुवासभा बन्न सक्छ ।

सिँगो पूर्वाञ्चललाई पाल्न सक्ने सामथ्र्य संखुवासभाले राख्दछ । यस्को समृद्धिसंगै देशै समृद्धिको पाटो समेत जोडिन्छ । यस्का लागि पशुपालनका क्षेत्र, स्वास्थ्य, शिक्षा, खानेपानी, बाटोघाटो लगायत विकासका क्षेत्रहरुको समष्टिगत विकास गर्दै अघि बढ्नुपर्नेछ ।

दुई वटा नयाँ विमानस्थलको बिचार र योजना समेत बनेको छ । यी सबै कुराहरु जोडेर संखुवासभाको विकास गर्न सकिन्छ । यस्का लागि तिब्र ईच्छा शक्ति भएको दक्ष र योग्य व्यक्ति संखुवासभाले खोजिरहेको छ ।

उसो भा त्यो अमुख दक्ष ब्यक्तिमा दिपक खड्काको नाम जोडिदियो भने के हुन्छ ?

मैले चाहना राख्नु सम्म स्वभाविक हो । तर मैले गरेका कामहरुले सबै कुराहरुलाई प्रमाणित गरि नै सकेका छन् । राजनीतिक रुपमा पनि मेरो परिबारै पञ्चायतकाल देखि नै पञ्चायतका बिरुद्ध, प्रजातन्त्रका पक्षमा संघर्ष गरेको परिबार हो ।

अझ काँग्रेस जस्तो पार्टीबाट मात्रै प्रजातन्त्र, लोकतन्त्र सम्भव हुन्छ भनेर अघि बढेको पारिवारिक पृष्ठभूमि हो । २०४२ सालमा नै स्कूले हुँदा नै नेबिसंघको सचिव भईसकेको व्यक्ति हुँ ।

प्रत्यक्ष , अप्रत्यक्ष रुपमा हरेक कालखण्डहरुमा राजनीतिक यात्रामा नै अघि बढिरहेको छु । व्यवस्थाको परिवर्तन, सामाजिक आर्थिक रुपान्तरण राजनीतिले नै गर्ने भएकाले पढेलेखेका, सक्षम, राजनीतिमा ईच्छाशक्ति भएकाहरु राजनीतिमा आईदिन पनि म आग्रह गर्छु, आँफू पनि त्यही अनुरुप अघि बढिरहेको छु ।

काँग्रसले जित्नुपर्छ भन्नका लागि तपाईको तर्क के हुन्छ ?

व्यवस्था परिवर्तनल गर्दै त्यस्लाई संस्थागत गर्दैगर्दा केही कमी कमजोरीका बाजजुत पनि काँग्रेसको विकल्प छैन यो देशमा । कमी कमजोरीहरुको व्यवस्थापन र सुधारका कामहरु गर्दै अघि बढिरहँदा जनताको मनमा बसेको पार्टी भएको हुनाले ठूला ठूला परिवर्तनहरुको बाहक नेपाली काँग्रेस भएको हुनाले जनताहरु नेपाली काँग्रेसको पक्षमा नै छन् ।

अब पनि विकास र समृद्धिका लागि नेतृत्व गर्नुछ , यस्को नेतृत्व पनि यही पार्टीले गर्ने निश्चित छ । यसैबाट पनि नेपाली काँग्रेस पहिलो पार्टी भईहाल्छ ।

अनि बहुप्रतिक्षित बनिरहेको विकास र समृद्धिको मार्गचित्र चाहीँ के हो खासमा ?

मूलुकको भौगोलिक अबस्थाको राजनीतिलाई ध्यान दिनुपर्छ सबैभन्दा पहिला । देश गरिब छ, छेउछेउमा बिशाल देशहरु छन्, श्रोतसाधनहरुको व्यवस्थापन हुन सकिरहेको छैन । यो अबस्थामा अन्य ठूला देशहरुसंगको सामिप्यतामा बिकासलाई अघि बढाउनुपर्दछ । योसंगै हामीसंग भएका आन्तरिक श्रोत साधनहरुको परिचालन गर्दै युवाहरुलाई बाहिर जानबाट रोकेर देशभित्रै लगानी र रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ ।

राजनीतिमा धेरै लामो समय देखि अलमलिरहे पनि अब चाहीँ देशले गति लिईरहेको छ, अब चाहीँ देश भित्रका राजनीतिक शक्तिहरुले आपसी समझदारी र सहकार्यमा देशलाई अघि बढाउने रणनीतिका साथ जनताको मन जित्नुपर्दछ । बाहिरी कुरामा सबैको एकै सोच हुनुपर्यो, अन्तराष्ट्रिय नीतिमा मूलुकका सबै पार्टीहरुको एउटै धारणा बन्नुपर्दछ । यही बाटोबाट मूलुकलाई समृद्धिको युगमा लैजान सकिन्छ ।

र अन्त्यमा, संखुवासभाका जनताका लागि के भन्न चाहनुहुन्छ ?

अहिले त संखुवासभाका लगायत सबै नेपाली जनताहरुका लागि बडा दशैँ, तिहार, छठ, उँभौली उँधौलीका पर्बहरुका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सबै जनताहरुलाई हार्दिक मँगलमय शुभकामना दिन चाहन्छु । दशैँ तिहार पनि मनाऔँ, यी चाड भन्दा पनि ठूलो पर्बका रुपमा निर्वाचनलाई बनाउँ । संविधानको कार्यान्वयका लागि निर्वाचनमा अधिकतम सहभागि भएर समृद्ध संखुवासभा, समृद्ध देश बनाउन सबै लागौँ भन्ने आह्वान पनि गर्न चाहन्छु ।