काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय ललितपुरका तत्कालीन प्रमुख बाबुराम खनाल र नापी कार्यालय ललितपुरका तत्कालीन कार्यालय प्रमुख बुद्धिमान जैसीसहित १७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुमाथि सार्वजनिक जग्गा मिलोमोतोमा प्लटिङ गरेर बिक्रि गरेको आरोप अख्तियारले लगाएको छ ।


ADVERTISEMENT


अख्तियारले उनीहरुविरुद्ध २ करोड २ लाख ३३ हजार ६७१ रुपैयाँ बराबरको बिगो दाबीसहित सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसूरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी सोही दफा ८ को उपदफा (४) र दफा ४७ बमोजिम उक्त विगो दाबी गरिएको हो ।


ADVERTISEMENT

# # #


ललितपुर महानगरपालिका–२८ र २३ स्थित सिलौटेमा पर्ने कर्मनासा (कोड्कु) नामको सार्वजनिक खोला र आसपासको सरकारी–सार्वजनिक जग्गा प्लटिङ्ग गरी व्यक्ति विशेषलाई बिक्री वितरण गरेको खुलेको अख्तियारले जनाएको छ ।

यूरो हाउजिङ्ग डेभलपर्स कम्पनीले मालपोत तथा नापी कार्यालयका कर्मचारीसँगको मिलोमोतोमा वि. सं २०२२ सालको नापी नक्सालाई तोडमोड गरेर नयाँ फाइल नक्सा बनाई प्लटिङ गरेर बेचेको अख्तियारको भनाई छ ।

यूरो हाउजिङ्ग डेभलपर्स प्रा.लि., यूरो ल्याण्ड डेभलपर्स प्रा.लि., काठमाडौं हस्पिटल प्रा.लि.का कम्पनीहरूका संचालकले प्लटिङ गरी बेचेको उक्त जग्गाका ३३ जना धनीहरुलाई भने अख्तियारले सफाइ दिएको छ ।

को–को विरुद्ध दायर भयो मुद्दा ?

मालपोत कार्यालय ललितपुर
बाबुराम खनाल (तत्कालीन कार्यालय प्रमुख)
ख्याम नारायण पौडेल (ना.सु.)
दिनेश न्यौपाने (ना.सु.)
आत्माराम लुईटेल (खरिदार)

नापी कार्यालय ललितपुर
बुद्धिमान जैसी (तत्कालीन कार्यालय प्रमुख)
बालेश्वर यादव (नापी अधिकृत)
केशव थापा मगर (सर्भेक्षक)

युरो हाउजिङ्ग डेभलपर्स प्रा.लि., यूरो ल्याण्ड डेभलपर्स प्रा.लि.
गुणीकाजी मानन्धर (संचालक)
योगेश्वर कृष्ण पराजुली (संचालक)
कृष्ण राज श्रेष्ठ (संचालक)
टंक बहादुर श्रेष्ठ (संचालक)
गोपालदाश मानन्धर (संचालक)
वविन मानन्धर (संचालक)
उज्जल मानन्धर (संचालक)

काठमाडौं अस्पताल प्रा.लि.
डा.ईश्वरलाल आचार्य (संचालक)
डा. दुर्गामान जोसी (संचालक)
दुर्गेस नन्दिनी भट्टचन (संचालक)