काठमाडौँ–  राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका अनिल झाले संविधान संशोधन पास नगरी पार्टी चुनावमा गएकोले दुई नम्बर प्रदेशको प्रारम्भिक मतगणना आउँदा राजपा पछि परेको बताएका छन्।


ADVERTISEMENT


‘मैले त संविधान संशोधन नगरी चुनावमा नजाउँ भनेकै हो,’ उनले भने, ‘आन्दोलनका एजेण्डा पुरा नगरी चुनावमा जान हुँदैनथ्यो। त्यसको नतिजा अहिले देखिइहालियो।’


ADVERTISEMENT

# # #


चुनावको पारिणाम जे आए पनि जनताले जुन स्थान आफ्नो पार्टीलाई दिन्छन् त्यो राजपालाई स्वीकार्य हुने उनले बताए। ‘हुन त यो प्रारम्भीक नतिजा हो, अझै पुरै परिणाम हेरौँ। जनताले जुन स्थान दिए पनि त्यो हामीले स्वीकार गर्नै पर्छ,’ उनले भने।

२ नम्बर प्रदेशको प्रारम्भिक मतगणनामा राजपा पाँचौ स्थानमा आउनुमा मुख्य तीन कारण रहेको उनले बताए। संविधान संशोधन हुननसक्नु पहिलो कारण र आर्थिक स्रोतको अभाव दोस्रो कारण रहेको उनले बताए।

‘लामो समय सरकारमा बसेका कांग्रेस र एमालेले चुनावमा राम्रो खर्च गर्न सकेको तर राजपालाई आर्थिक अभाव पर्‍यो,’ उनले भने। तेस्रो कारण, उम्मेदवारको छनोट गर्न ढिलाइ हुनु पनि हो।

‘हामीले लाष्ट आवरमा आएर मात्र उम्मेदवार चयन गर्‍यौँ। हाम्रा उम्मेदवार को भए भन्ने समेत हामीलाई थाहा भएन,’ उनले भने। अध्यक्ष मण्डलकै अर्का नेता राजेन्द्र महतोले भने तराईमा राजपा बलियो शक्ति हुने बताए।

‘राजपा पहिलो नभए दोस्रो त जरुर हुन्छ। हेर्नुहोस् खाता पनि राजपाले नै खोलेको छ,’ उनले भने,’अहिले प्रारम्भीक नतिजा हेरेर कहाँ हुन्छ ? अन्तिम परिणाम सम्म हेरौँ न।’

झाले पनि सिट कम जिते पनि ‘पपुलर मतमा’ राजपा धेरै अघि हुने दावी गरे। ‘यो प्रारम्भीक परिणाम हो। अन्तिम परणाम आउन बाँकी नै छ। तराईमा हाम्रो पपुलर भोट धेरै छ भन्नेमा हामी ढुक्क छौँ,’ झाले भने।