उदयपुर – उदयपुरमा बालविवाह दर घटेर न्यून भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार विगतमा उदयपुरमा प्रहरीमा बालविवाहसम्बन्धी निकै उजुरी आउने गरेको तर दुई वर्षदेखि घटेर यस वर्ष दुईवटा मात्र उजुरी परेको छ ।


ADVERTISEMENT


बालविवाह कानूनीरुपमा पनि दण्डनीय छ । प्रहरीमा निवेदन आएपछि कानूनी कारवाही गर्ने र बालविवाह गर्न लागेकालाई र यसमा संलग्नलाई सम्झाइबुझाइ पठाउने गरेपछि प्रहरीमा सो सम्बन्धी उजुरी घट्दै गएर झण्डै शून्यमा झरेको छ । उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालका अनुसार गत वर्षहरुको तुलनामा यस वर्ष बालविवाहको उजुरी घटेर तल झरेको र दुईवटा निवेदनमात्र प्रहरीमा परेको छ ।


ADVERTISEMENT

# # #


जिल्ला बालसङ्गठन तथा बालकल्याण समितिका अध्यक्ष भुवन दाहालका अनुसार विगतको तुलनामा अहिले जिल्लामा बालविवाहका दर निरन्तर घटेर झण्डै शून्यमा पुगेको छ । अध्यक्ष दाहाल भन्छन्, “विसं २०७२ मा जिल्लामा बालविवाहको घटना १२, २०७४ मा नौ र यस वर्ष दुईमा झरेको छ ।” गाउँगाउँमा बाल सङ्गठन तथा बाल कल्याण समितिका अभियान, विभिन्न सामाजिक सङ्घसंस्थाको जनचेतनामूलक कार्यक्रम र प्रहरीको कारवाहीको कारण बालविवाह दर घटेको अध्यक्ष दाहाल बताउँछन् ।

सामाजिक अभियन्ता तथा महिला रक्षक सञ्जाल उदयपुरका पूर्वअध्यक्ष महेश्वरी राई विगतमा बालविवाह हुने गाउँ क्षेत्रमा अभिभावक र गाउँलेमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि भित्रभित्रै हुने बालविवाह नियन्त्रण हुँदै गएको बताउँछन् । त्रियुगा नगरपालिका क्षेत्रमा भित्रभित्रै सबैभन्दा धेरै बालविवाह हुने राजावास, चुहाडे, जोगिदह क्षेत्रमा समेत अहिले बालविवाह शून्यमा झरेको बालविवाहविरुद्धका सामाजिक अभियान्ता माया भण्डारी बताउँछन्।

लिम्चुङबुङ गाउँपालिकाभित्र विगतमा भित्रभित्रै अभिभावकको मिलेमतोमा नै बालविवाह हुने गरेको भए पनि अब गाउँघरमा जनचेतना जागरण वृद्धि भएको, बालविवाह सम्बन्धी स्थानीय जनतामा कानूनी ज्ञान हुन थालेको कारण र बालविवाहविरुद्धको अभियानले अहिले बालविवाह शून्यमा झरेको सो गाउँपालिकाकी उपाध्यक्ष रमिला राईले बताए ।