काठमाडौं – देशमै गुणस्तरीय स्वास्थ्य सेवा दिंदै आएको नर्भिक इन्टरनेशनलहस्पिटलले कोभिड–१९ को संक्रमणविरुद्ध देशले थालेको लडाईंमा महत्वपूर्ण  योगदान गरेको छ ।
नेपालका निजी अस्पतालमध्ये कोभिड संक्रमितको रोजाईको केन्द्र बनेको नर्भिकले कोभिडको छुट्टै एनआइसियू तथा फिभर क्लिनिक नै निर्माण गरी बिरामीहरुलाई स्तरीय स्वास्थ्य सेवा दिएको हो । यो क्रममा कोभिड संक्रमित भएका ६७२ बिरामीले स्तरीय सेवाको साथमा नयाँ  जीवन पाएका छन् । सम्भवत निजी अस्पतालमध्ये नर्भिकले नै सबैभन्दा बढी संक्रमितको उपचार गरेको हो ।
व्यवसायिक घाटाको डरलाग्दो अवस्थामा रहेको बेला समेत कोभिडको अलग्गै युनिट बनाउँदा सिर्जना हुने आर्थिक दायीत्वलाई समेत पन्छ्याएर नर्भिकले सामाजिक उत्तरदायित्व बोध गर्दै अत्याधुनिक र स्तरीय कोभिड वार्ड तयार गरी बिरामीहरुलाई स्तरीय सेवा दिएको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए । नर्भिकका स्वास्थ्यकर्मीहरुले आफ्नो ज्यान जोखिममा राखेर भए पनि ६७२ संक्रमितलाई नयाँ जीवन दिने सफलता  पाएका सिंह बताउँछन् ।
नर्भिक अस्पतालले कोभिड सुरु भएपछिदेखि केही दिनअघिसम्म गरी कुल ६७२  संक्रमितको सफल उपचार गरेको हो । नेपालमा कोभिड १९ को संक्रमण सुरु भएलगत्तै सरकारले घोषणा गरेको कोभिड कोषमा निजी क्षेत्रको तर्फबाट सहयोग गर्ने पहिलो व्यक्ति पनि नर्भिकका  अध्यक्ष बसन्तकुमार चौधरी थिए । उनले सो बेला सरकारी कोषमा ५० लाख  रुपैयाँ नगद प्रदान गरेका थिए भने ६० लाख रुपैयाँ बराबरको मेडिकल सामाग्री समेत हस्तान्तरण गरेका थिए । चौधरीले कोभिड कोषमा योगदानको घोषणा गरेपछि निजी क्षेत्रबाट समेत त्यहाँ सहयोग उपलब्ध गराउने लहर नै चलेको थियो ।