काठमाडौँ – औपचारिक विभाजनको मुखमा रहेको सत्तारुढ दल नेपाल–कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलनको घोषणा गरेको छ ।


ADVERTISEMENT


बिहीबार बबरमहलमा बसेको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठकले संसद विघटनविरुद्ध सशक्त ढंगले आन्दोलन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


ADVERTISEMENT

# # #


प्रवक्ता श्रेष्ठका अनुसार बैठकले पहिलो चरणका आन्दोलनको घोषणा गरेको हो । बैठकले संघर्षका कार्यक्रमलाई व्यवस्थित ढंगले परिचालन गर्नका लागि प्रवक्ता श्रेष्ठको संयोजकत्वमा २५ सय १ सदस्यीय केन्द्रीय संघर्ष समिति र त्यसको एक सचिवालयको गठन गरेको छ ।

पहिलो चरणका कार्यक्रमपछि उच्च स्तरका कार्यक्रमहरु घोषणा गर्ने तयारी पनि गरिएको प्रवक्ता श्रेष्ठले जनाएका छन् ।

यस्ता छन् प्रचण्ड-नेपाल समूहको पहिलो चरणका आन्दोलनका कार्यक्रम

१. पुस १० गते बिहान ९ः३० बजे माइतीघर मण्डलामा र मद्यान्ह १२ बजे निर्वाचन आयोगमा पार्टीको केन्द्रीय कमिटीका सदस्यहरु र पार्टीको तर्फबाट संसदमा रहेका सांसदको उपस्थितिमा विशेष कार्यक्रम सञ्चालन गरिने ।

२. भोलि नै पार्टी अध्यक्षहरु (पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल)को तर्फबाट अपरान्ह २ बजे पत्रकार सम्मेलन ।

३.पुस ११ गते प्रदेश कार्यालयको संयोजनात्मक छलफल हुने र ७ दिनभित्र प्रदेश कमिटिको बैठक सम्पन्न गर्ने ।

४. पुस १२ गते ७७ वटै जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला सम्पन्न गरिने । एकिकृत पार्टीलाई कसरी अगाडि बढाउने, पार्टी एकता र षड्यन्त्रहरुलाई कसरी चिर्ने, प्रतिनिधिसभाको कथित विघटनका विरुद्ध कसरी अघि बढ्ने भनेर अभिमुखी कार्यक्रम सञ्चालन गरिने ।

५. पुस १४ गते काठमाडौँमा र जिल्ला–जिल्लामा प्रतिनिधिसभाको कथित विघटन र षड्यन्त्रका विरुद्ध विरोध प्रदर्शन गर्ने । १४ गतेसम्म सबै जनवर्गीय संगठन र मोर्चा संगठनको केन्द्रीय बैठक र आवश्यकता अनुसार भेलाको आयोजना गरिने ।

६. पुस २० गतेसम्म सबै नगरपालिका र गाउँपालिका स्तरमा पार्टीका बैठक भेलाहरु आयोजना गरिने ।

७. पुस २५ गतेसम्म सबै वडास्तरमा बैठक भेलाहरु आयोजना गरिने ।