काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले प्रतिनिधिसभाको विघटन आफ्नो रुची वा छनोटको विषय नभएको बताएका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाको विघटनको भोलिपल्ट सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनभावना विपरित राष्ट्रिय राजनीतिलाई अन्त्यहीन र अर्थहीन विवादमा अल्झाएर गतिरोध सिर्जना गरिएपछि र संसदलाई अर्थहीन र जननिर्वाचित सरकारलाई असहयोग र घेराबन्दीमा पुर्‍याइए पछि आफू संसद विघटनको विकल्पमा पुग्न बाध्य भएको बताए ।


ADVERTISEMENT

# # #


‘प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन मेरो रुची वा छनोटको विषय थिएन ।’ उनले भने, ‘तर, मुलुकलाई अकर्मण्यताको अवस्थामा राखिराख्नु उचित हुँदैनथ्यो । संसदलाई केही नेताहरुको बन्धक बनाइराख्नु जनादेश विपरित हुन जान्थ्यो ।’

जनताको भावना अनुसार काम गरेर अगाडि बढ्नै नसक्ने स्थितिबाट मुलुकलाई निकास दिनै पर्ने भएकाले नयाँ जनादेशका लागि सार्वभौम जनताको बीचमा जाने निष्कर्षमा पुगेको उनले बताए । निर्धारित समयभन्दा डेढ वर्ष अगावै ताजा जनमतमा जानुपर्ने अवस्था सिर्जना होला भन्ने अनुमान कसैलाई नभए पनि आफ्नै पार्टीका नेताहरुको असहयोगले त्यो अवस्था आएको उनले बताए ।

निर्वाचनपछि नै राष्ट्रिय राजनीतिलाई विसङ्गत र अस्थिर बनाउने काम भएको र जनअपेक्षानुरुप सरकारले काम गर्न थाले पनि केही नेताहरुले निरन्तर अस्थिरताका लागि प्रयास गरेको प्रधानमन्त्री ओलीले आरोप लगाए ।

नेकपाका अध्यक्ष ओलीले विपक्षी नेतालाई पनि उछिनेर आफ्नो पार्टीभित्रका केही नेताहरु पद र प्रतिष्ठामा मात्र केन्द्रित रहेको पनि जिकिर गरे ।